काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्ने आफ्नै नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
पेरिसडाँडामा आयोजित बैठकमा प्रचण्डले केन्द्रीय र प्रदेश तहका नेताहरूबाटै घण्टी चिन्हमा उल्लेख्य भोट गएको प्रारम्भिक रिपोर्ट आएको बताए ।
उनले त्यस्ता व्यक्तिहरूको पहिचान गरी आँखा चिम्लेर कारबाही गरिने स्पष्ट पारे ।
उनका अनुसार अब कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुनेछ र यही प्रक्रियाबाट पार्टी पुनर्गठन अघि बढाइनेछ ।
निर्वाचन समीक्षाका लागि तल्लो कमिटीहरूबाट रिपोर्ट संकलन भइरहेको छ ।
जसमा आफ्नै संगठनभित्रबाट अपेक्षित समर्थन नपाउँदा हार व्यहोर्नु परेको निष्कर्ष देखिएको छ ।
फागुन २१ को निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भएको थियो ।























