काठमाडौं– अमेरिकी सेनाको एफ–३५ स्टेल्थ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आकस्मिक अवतरण गरेको छ। इरानमाथि भइरहेको सैन्य कारबाहीका क्रममा उडिरहेको उक्त विमानमा सम्भावित आक्रमणको संकेत देखिएपछि आपतकालीन अवतरण गराइएको हो।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, घटनाबारे जानकारी दिँदै अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान सुरक्षित रूपमा अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको बताएका छन्। उनले घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्वयता इरानबाट अमेरिकी विमानमाथि प्रहार भएको यो पहिलो सम्भावित घटना हुन सक्ने बताइएको छ। उक्त संघर्षमा अमेरिका र इसराइलले एफ–३५ जेट प्रयोग गर्दै आएका छन्।
एफ–३५ अत्याधुनिक ‘स्टेल्थ’ लडाकु विमान हो, जसले रडारबाट बचेर शत्रु क्षेत्रमा प्रवेश गर्न सक्छ। यसको मूल्य १० करोड डलरभन्दा बढी पर्ने बताइएको छ।
यसअघि पनि युद्धका क्रममा अमेरिकी केही विमान दुर्घटनाग्रस्त भएका छन्। युद्धको सुरुवाती चरणमै कुवेतमा तीन वटा एफ–१५ लडाकु विमान खसेका थिए, जसलाई ‘फ्रेन्डली फायर’ को घटना मानिएको थियो।
त्यसैगरी, गत साता इराकको पश्चिमी क्षेत्रमा इन्धन भर्ने केसी–१३५ विमान दुर्घटनामा पर्दा ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो। अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको जनाएको थियो।
युद्ध तेस्रो सातातर्फ प्रवेश गर्दै गर्दा क्षेत्रको अवस्था अझै अनिश्चित रहेको छ। अमेरिकी सेनाले थप सैन्य बल परिचालन गर्दै अभियानलाई तीव्र बनाएको जनाएको छ।


विश्व खबर 


















