images
images
  • अमेरिकी लडाकु विमानको आपतकालीन अवतरण, इरानको आक्रमणमा परेको दाबी

    काठमाडौं- इरानमाथि आक्रमण गर्न गएको अमेरिकाको एक एफ-३५ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आपतकालीन अवतरण गरेको छ ।

    सो विमान इरानको आक्रमणमा परेको अनुमान गरिए पनि पुष्टि भएको छैन ।

    अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको बताइएको छ ।

    अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै इरानमाथि लडाकु मिसन सम्पन्न गरेपछि विमानले क्षेत्रीय अड्डामा आपतकालीन अवतरण गरेको जानकारी दिएका छन् ।

    ‘विमान सुरक्षित अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन् ।

    अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त विमान इरानको आक्रमणमा परेको हुन सक्ने जनाएको छ ।

    तर अमेरिकी पक्षले आपतकालीन अवतरणको स्पष्ट कारण अझै खुलाएको छैन ।

    अल जजिराका अनुसार एफ-३५ स्टेल्थ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।

    मार्च १ मा भने अमेरिकी तीन वटा एफ-१५ इ स्ट्राइक इगल विमानहरु कुवेती एफ/ए-१८ द्वारा ‘फ्रेन्डली फायर’ मा खसालिएका थिए ।

    सबै ६ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

    यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक अमेरिकी विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

    फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता अमेरिकाले करिब १२ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको रिपोर्टहरूमा उल्लेख छ ।

    साथै, साउदी अरेबियास्थित एक अड्डामा इरानी क्षेप्यास्त्र आक्रमणबाट इन्धन भर्ने पाँच वटा विमान क्षतिग्रस्त भएको पनि बताइएको छ, यद्यपि यी विवरण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।

    अहिलेसम्म इरानसँगको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images