काठमाडौं- नेपाली कांग्रेस सभापति गगन थापाले निर्वाचनमा पराजयपछि नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकृत हुने भएको छ ।
शुक्रबार ९आज० बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा अस्वीकृत गर्ने भएको हो ।
ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार बैठक बोलाइएको छ ।
थापाले दिएको राजीनामालाई उपसभापति विश्वप्रकाश शर्माले बिहीबार रोकेर केन्द्रीय समिति बैठकबाट निर्णय गराएर अस्वीकृत गर्ने रणनीति बनाएका छन् ।
थापाको राजीनामापछि बिहीबार नै कांग्रेस उपसभापति शर्माले ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने’ टिप्पणी गरेका छन् ।
थापाको राजीनामाको विपक्षमा उभिएका उपसभापति शर्माले ‘नैतिक जिम्मा लिन्छु’ भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको जनाएका छन् ।
बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उनले जानकारी दिए ।
उपसभापति पुष्पा भुसालले सभापति थापाको राजीनामाको पक्षमा देश नै नभएको जनाइन् । आफूहरूमात्रै नभई देशैले सभापतिको राजीनामा नचाहेको उनको कथन छ ।
चुनावपछि नैतिकता आधार दिए पनि पार्टीलाई पार लगाउन सभापति थापाको विकल्प नभएको उनले जनाइन् ।
‘यस्तो अवस्थामा राजीनामा दिनु ठिक होइन’ उनले भनिन् ‘अहिले पार्टीको नेतृत्व सम्हाल्दै पार्टीलाई अगाडी बढाउनुपर्ने हुन्छ’ ।
यता, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवानिकटका नेताले भने थापाको राजीनामाको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
देउवानिकट नेता प्रकाशशरण महतले विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नै नभएकाले एकजनाले राजीनामा दिने अनि अर्कोले जिम्मेवारी लिएरमात्रै पार्टीको समस्या समाधान नहुने बताए ।
उनले नियमित महाधिवेशनका लागि सबैलाई मान्य हुने साझा सूत्र खोजी गर्नुपर्नेमा जोड दिए । कांग्रेसको अहिलेको विवाद समाधान गर्ने एकमात्र विकल्प पार्टीको नियमित महाधिवेशन भएको उनको जिकिर छ ।
थापा आफैं सर्लाही क्षेत्र नम्बर-४ मा पराजित भएका छन् भने कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटमात्रै जितेको छ ।
कांग्रेसले यसअघि नै सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनिएको हो ।























