काठमाडौं- शिशुले खाने ‘फर्मुला मिल्क’ मा समेत चरम ठगी भइरहेको पाइएको छ ।
‘न्युट्रिसिया’ ब्रान्डको दुधमा उत्पादकले तोकेको वास्तविक मूल्यलाई छोपेर बढी मूल्यको नयाँ स्टिकर टाँसी उपभोक्ताबाट महँगो मूल्य लिएको पाइएको हो ।
एक उपभोक्ताले आफ्नो शिशुका लागि फर्मूला दूध खरिद गर्ने क्रममा उक्त दूधको बट्टामा उल्लेख गरिएको मूल्यमाथि अर्को मूल्यसहितको स्टिकर टाँसिएको भेटिएको छ ।
उनले भने, ‘हालसम्म २०-२५ बट्टा दुध किनिसकेको छु । बट्टाको पिँधमा १ हजार ४ सय ९५ रुपैयाँको नयाँ स्टिकर टाँसिएको छ । तर उक्त स्टिकरमुनि प्रिन्ट गरिएको वास्तविक मूल्य भने १ हजार ४ सय १५ रुपैयाँ मात्र रहेको छ ।’
यस विषयमा ती उपभोक्ताले सम्बन्धित पसलमा प्रश्न गर्दा पसलेले आपूर्तिकर्ताबाटै यसरी नै आउने गरेको जवाफ दिएको बताए ।
उपभोक्ता संरक्षण ऐनअनुसार कुनै पनि वस्तुमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा बढी लिनु वा स्टिकर टाँसेर मूल्य केरमेट गर्नु दण्डनीय अपराध हो ।
यस घटनालाई लिएर उपभोक्ताले वाणिज्य विभाग उजुरी दिइसकेका छन् । यस सन्दर्भमा वाणिज्य विभागले अनुगमन गर्ने र आवश्यक परे कारबाही अघि बढाउने जनाएको छ ।























