images
images
  • ट्राभल एजेन्सी खोलेर ठगी धन्दा, झन्डै ३ करोड ठग्ने ७ जना पक्राउ

    काठमाडौं- काठमाडौं महानगरपालिका-१० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सीको कार्यालय स्थापना गरेर ठगेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली नागरिक छन् ।

    सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिका लगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाएर आरोपीहरूले ठगी गरेका हुन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको कार्यालयमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप घर भएका २६ वर्षीय विवेक रेग्मी, भारत घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी छन् । विवेक रेग्मी बाहेक अन्य आरोपी भारतीय नागरिक हुन् ।

    आरोपीहरूले २ करोड ७२ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    ठगीमा संलग्नहरूले काठमाडौं उपत्यकाका सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ खडा गरेर सपिङ गर्न जानेहरूलाई फारम भर्न लगाउने गरेका थिए । घुम्न जान चाहनेहरूको डिटेल लिएर उनीहरुले प्याकेज अफरबारे जानकारी गराउँथे ।

    १७५ देशको प्याकेज अफर देखाएर उनीहरुले सर्वसाधारणलाई भन्ने गरेका थिए, ‘खान बस्न पैसा लाग्दैन, तपाईँलाई चिट्ठा परेपछि खबर आउँछ ।’

    त्यसपछि उनीहरुले फोन गरेर चिट्ठा परेको जानकारी गराउँदै ट्राभलको अफिसमा बोलाउने गरेका थिए ।

    थापागाउँस्थित ट्राभल्सको कार्यालयमा बोलाएर ७ दिन, १० दिन र ५ वर्षसम्मको प्याकेज देखाएर रकम जम्मा गर्न लगाउने र सम्झौता बमोजिम काम नगरेर ठग्ने गरेको प्रहरीले जनाएको छ ।

    सो ट्राभल एजेन्सी सरकारको स्वीकृति बिना नै सञ्चालन भएको भेटिएको छ ।

    आरोपीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

    आरोपीहरुविरुद्ध ३२८ जना पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images