images
images
  • सरकारी स्कुलमा बच्चा पढाउँदा निःशुल्क स्वास्थ्य बीमाको सुविधा

    काठमाडौं- पोखरा महानगरपालिका वडा नम्बर १२ ले सरकारी स्कुलमा बालबच्चा पढाउने अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिएको छ ।

    छोराछोरी सामुदायिक विद्यालयमा पढाउने सबै अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

    सरकारी विद्यालयप्रति आकर्षण बढाउन चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

    वडाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क बनाउने नीति अन्तर्गत काम गरिरहेको उनको भनाइ छ ।

    ‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्नेछौँ ।’

    यो वडामा देशकै उत्कृष्ट मध्यका सामुदायिक विद्यालय छन् । अमरसिंह माध्यमिक विद्यालय र शीतलादेवी सामुदायिक विद्यालयले देशमै उत्कृष्ट नतिजा दिँदै आएका छन् ।

    सरस्वती आधारभूत विद्यालय समेत गरी तीन विद्यालयमा मात्रै ४ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने वडाको तथ्याङ्क छ ।

    स्वास्थ्य बिमा कार्यक्रममा वार्षिक ३ हजार ५ सय प्रिमियम तिरेर परिवारका ५ जना सदस्यले १ लाख बराबरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्छन् ।

    बिमा प्रिमियमबापतको रकम वडाले भुक्तानी गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images