काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पुष्प वादीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
करार सेवा नवीकरण/म्याद थप गर्न १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले लिने र दिनेविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मेयरले आर्थिक वर्ष २०७९/०८० मा करार म्याद थप गरिदिन कर्मचारी मोहन शाहसँग १ लाख रूपैयाँ घुस लिएको पाइएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार मोहन सब-इन्जिनियर हुन्। उनी लामोसमयदेखि करारमा काम गर्दै आइरहेका थिए।
मोहनले २०८० साउन ८ गते मेयर पुष्पको बैंक खातामा पैसा जम्मा गरिदिएको प्रमाणसमेत फेला परेको उनको भनाइ छ।
दोस्रो पटक पनि म्याद थप गर्न पैसा मागेपछि यो घटना बाहिर आएको उनले बताए।
पुनस् म्याद थप गरिदिन कर्मचारी मोहनले मेयर पुष्पलाई भनेका थिए। उनले फेरि १ लाख रूपैयाँ मागेको र बुझाउन नसकेपछि सेवाबाट हटाइएको अनुसन्धानमा खुलेको अख्तियारको भनाइ छ।
मेयरले आफ्नो पदको दुरूपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको र घुस दिएको आरोपमा दुवैविरूद्ध भ्रष्टाचार मुद्दामा दर्ता गरिएको छ।
उनीहरूविरूद्ध १ लाख कसुर बिगो र कैद माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
पुष्प २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट मेयर निर्वाचित भएका थिए।























