images
images
  • आयोगले जेनजी आन्दोलनमा सहभागीमध्ये १ लाख ७१ हजारको गर्‍यो ट्रयाकिङ, सांसदलाई मन्त्री नबनाउन सुझाव

    काठमाडौं- गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको गोली प्रहार र आगजनी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले घटनामा संलग्न एक लाख ७१ हजारको वैयक्तिक विवरण उतारेको छ ।

    आयोगका अनुसार यो संख्या उच्च तहका पदाधिकारी, सुरक्षाकर्मी र सरकारी कर्मचारीबाहेक हो । आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

    आयोगले आसपासका सिसिटिभी फुटेज र प्राप्त भिडियोको प्राविधिक अध्ययन र विश्लेषणपछि जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएकाहरूलाई ‘ट्रयाक’ गरेको हो ।

    आयोगले छानबिनकै क्रममा कैद भएका भिडियो तथा फोटो उपलब्ध गराउन सार्वसाधारणसँग सार्वजनिक आह्वान गरेको थियो ।

    यस क्रममा ३५ हजारभन्दा धेरै भिडियो र सोही संख्यामा फोटो संकलन भएका थिए ।

    ‘जाँचबुझका क्रममा उपलब्ध र सर्वसाधारणसँगका पनि भिडियो–फोटो संकलन गर्‍यौँ । ठुलो संख्यामा उपलब्ध भिडियो र फोटोको विभिन्न कोणबाट अध्ययन गर्‍यौँ । सोही आधारमा २३ र २४ भदौको आन्दोलनमा सहभागी एक लाख ७१ जनालाई ‘ट्रयाक’ भएका छन्,’ आयोगले भन्यो, ‘उनीहरूका भूमिकालाई पनि मिहिन ढंगले केलाइएको छ । र, उनीहरूविरुद्ध थप अनुसन्धान गर्न औँल्याइएको छ ।’

    आयोगका अनुसार काठमाडौं उपत्यका र बाहिरका गरी १५ ठाउँमा भएको विध्वंसलाई अनुसन्धानको ‘कोर एरिया’ बनाइएको थियो ।

    त्यसमा नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार, अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपतिनिवास, कान्तिपुर कम्प्लेक्स, होटेल हिल्टन, चौधरी ग्रुप तथा भाटभटेनी सुपरमार्केटमा गरिएका आगजनी, लुटपाट र तोडफोडलाई विशेष प्राथमिकतासहित अध्ययनको क्षेत्र निर्धारण गरिएका थिए ।

    त्यसबाहेक पार्टी कार्यालय, निजी निवास, प्रहरी कार्यालयलगायतका ठाउँमा भएका आगजनीलाई पनि अनुसन्धानको विषय बनाइएको छ ।

    स्रोतका अनुसार ती ठाउँको आगजनीमा सहभागी हुनेहरूको संख्यासमेत उतारिएको छ । उनीहरूको मुभमेन्ट, उनीहरूले बोकेका टेलिफोन, गरेको कुराकानी (सिडिआर), आदानप्रदान भएका म्यासेज, प्रयोग गरिएका सामाजिक सञ्जाललगायतका पक्षमाथि पनि अध्ययन भएका छन् ।

    ‘सोहीअनुसार कहाँ कति संख्यामा आन्दोलनकारी सहभागी भए रु उनीहरूले कसलाई कतिपटक टेलिफोन गरे रु उनीहरू कहाँ–कहाँ पुगेर आगजनी गरे रु कसले कसलाई कस्तो निर्देशन दियो रु कस्ता म्यासेज आदानप्रदान भए रु सामाजिक सञ्जाल कसरी प्रयोग गरियो रु लगायतका विस्तृत विवरण चार्टमा उतारिएका छन्,’ आयोगसम्बद्ध अधिकारीहरू भन्छन्, ‘समग्रमा छानबिनका क्रममा धेरै विषयवस्तुको अध्ययन गरिएको छ । र, थप अनुसन्धानका लागि विषयवस्तु सतहमा ल्याइदिएको छ ।’

    त्यस्तै, आगजनी भएका सबै ठाउँमा उपलब्ध खरानी, माटो, ध्वाँसो, अँगारजस्ता भौतिक पदार्थको पनि अध्ययन भएको छ ।

    ताकि आगजनीमा केमिकल प्रयोग भए–नभएको खुल्न सकोस् ।

    यसका लागि विशेषज्ञ टोलीले सबै भौतिक पदार्थको वैज्ञानिक अनुसन्धान गरेको र दोषी देखिएकालाई सोहीअनुसार कारबाही सिफारिस गरिएको छ ।

    तर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुका सम्बन्धमा कुनै औपचारिक जानकारी नभएको बताए ।

    ‘प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुको सम्बन्धमा कुनै औपचारिक जानकारी छैन । किनभने, प्रतिवेदन मन्त्रिपरिषद्मा पेस भएको छ र यसमा गृहको व्यवस्थापन भूमिका मात्र छ,’ उनले भने ।

    प्रतिवेदनमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीसहित १० पदाधिकारीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

    आयोगले भने यस सम्बन्धमा औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।

    आयोग संयोजक कार्कीले सार्वजनिक रूपमै गोली हान्ने, हान्न लगाउने र गोली हान्न नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् ।

    यस्तै, उनका अनुसार २४ भदौको आगजनी र तोडफोडमा सहभागीलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

    आयोगले गत २५ फागुनमा प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो । प्रधानमन्त्री कार्की प्रतिवेदन कुन हदसम्म सार्वजनिक गर्ने सन्दर्भमा छलफलरत छिन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा खोलिनेछ । त्यसपछि आवश्यक अध्ययन हुनेछ । प्रतिवेदनको गाम्भीर्य हेरी कुन तहसम्मको प्रतिवेदन सार्वजनिक गर्ने भन्ने त्यसपछि मात्रै टुंगो लाग्नेछ ।

    जाँचबुझ आयोगको प्रतिवेदनले प्रहरीमा तरंग
    २३ भदौको ‘नरसंहार’मा प्रत्यक्ष संलग्न प्रहरी र तिनीहरूका कमान्डरमाथि फौजदारी मुद्दामै कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

    त्यतिवेला काठमाडौं परिसरका अधिकारीदेखि तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङसम्मलाई जिम्मेवार बनाउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।

    भिड नियन्त्रणमा सशस्त्रलाई नखटाउन सुझाव
    आयोगका अनुसार यस्ता आन्दोलन नियन्त्रणमा फिल्डमा कार्यविभाजनमा हाल प्रस्ट नहुँदा समस्या देखिन्छ ।

    भिड नियन्त्रणमा कमान्ड डुब्लिकेसनले पनि समस्या निम्त्याएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीबिच कार्यविभाजनमा प्रस्टता छैन । नेपाल प्रहरीले नसकेको अवस्थामा मात्र सशस्त्र प्रहरीलाई खटाउने गरी सुरक्षा निकायको परिचालन गर्न आयोगले सुझाव दिएको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images