काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले ओरालो लागेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ। मंगलबार यही सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा २४ घण्टाको अवधिमा सुनको मूल्यमा ठूलो गिरावट आएको देखिन्छ।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ कायम गरिएको छ।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो। चाँदीको प्रतिदश ग्राम मूल्य ४ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।


विश्व खबर 




















