काठमाडौं- मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा सादा पोसाकमा समेत ठुलो संख्यामा प्रहरी खटाएर निगरानी भइरहेको छ ।
‘मौन अवधिमा हुन सक्ने सम्भावित क्रियाकलाप रोक्न सादा पोसाकमा पनि प्रहरी खटिएका छन्, राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिइएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘निर्वाचनविरोधी समूहविरुद्धका कारबाही पनि बढाइएको छ ।’
मौन अवधिको पहिलो दिन मंगलबार छिटपुटबाहेक निर्वाचनविरोधी गतिविधि नभएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन प्रचार गर्ने, मतदाताको घरदैलोमा गएर प्रभावित पार्नेजस्ता केही घटना भएका छन् । तर, बुधबारको दिन चुनौतीपूर्ण हुन सक्ने आकलन गरिएको छ ।
निर्वाचनविरोधी गतिविधि देखिए कसैको पनि पक्षधरता नलिई कारबाही गर्न गृह मन्त्रालयले सिडिओ र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
आचारसंहिताविरोधी गतिविधि रोक्न सामाजिक सञ्जालमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फिल्डदेखि सामाजिक सञ्जालसम्म निगरानी बढाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन हरेक निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बाक्लो छ ।
यो निर्वाचनमा उपत्यकाका हरेक निर्वाचन क्षेत्रमा एसपी तथा उपत्यकाबाहिरका निर्वाचन क्षेत्रमा डिएसपीलाई कमान्डर तोकेर खटाइएको छ ।
त्यस्तै, एसएसपी र एसपीहरूलाई पनि समन्वय र नियमनका लागि फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।























