चितवन– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला परिषद् सचिवालय, चितवनले सोविता गौतमको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार गौतमले एक चुनावी सभामा गुरुङ र थारु लगायत आदिवासी जनजाति समुदायलाई पैसाले किन्न सकिने र विक्न सक्ने वर्ग भनी दिएको टिप्पणी अपमानजनक र गैरजिम्मेवार भएको उल्लेख छ ।
महासंघका अनुसार उक्त अभिव्यक्तिले आदिवासी जनजातिको स्वाभिमान, राजनीतिक चेतना र अधिकारमाथि गम्भीर प्रहार गरेको छ ।
मतदातालाई पैसा दिए लिनुस् भन्दै आर्थिक लेनदेनमा उक्साउनु निर्वाचन आचारसंहिताविपरीत भएको महासंघको ठहर छ ।
महासंघले २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण दिन गौतमसँग माग गरेको छ ।
माग पूरा नभए चितवन क्षेत्र नम्बर ३ मा चुनावी बहिष्कारसहित आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिइएको छ ।
महासंघका अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘हाम्रो स्वाभिमान हाम्रो पहिचान हो’ भन्दै समुदायको सम्मानमाथि खेलबाड नगर्न चेतावनी दिइएको छ ।
यसका साथै अध्यक्ष कुमालले उनले माफी नमागे चितवन–३ मा प्रवेशमा रोक लगाउने समेत चेतावनी दिएका छन् ।























