काठमाडौं- इजरायलले इरान समर्थित हिजबुल्लाहको लेबनानमा रहेका विभिन्न ठेगानामा व्यापक बमबारी गरेपछि इजरायल, इरान र सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभर फैलिएको छ ।
अमेरिकी समर्थनमा इरानमाथि भएको आक्रमण र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिएको छ ।
तेहरान समर्थित सिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ ।
सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइत तथा दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएको त्यहाँको सरकारले जनाएको छ ।
यसैबीच, अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ । वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) को मुख्यालय ध्वस्त पारेको जनाएको छ ।
इरानले त्यसको जबाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ ।
तेल अभिभ नजिक र बेत सेमेस क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । जेरुसेलममा पनि घाइते भएका छन् ।
इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
यसैबीच, लेबनानका प्रधानमन्त्री नबाफ सलामले हिजबुल्लाहको रकेट प्रहारलाई गैरजिम्मेवारपूर्ण कदम बताउँदै यसले देशलाई थप जोखिममा पारेको प्रतिक्रिया दिएका छन् ।
उता, पाकिस्तानको कराचीमा अमेरिकी वाणिज्य दूतावासमा आक्रमण प्रयास हुँदा भएको गोली प्रहारमा १७ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी सैनिकको मृत्युको बदला लिने बताउँदै कारबाही अझ कडा हुने चेतावनी दिएका छन् ।
पेन्टागनका अनुसार ‘एपिक फ्युरी’ नामक अपरेसनमा ३ अमेरिकी सैनिक मारिएका छन् ।
अमेरिकी दाबीअनुसार ९ इरानी नौसैनिक जहाज डुबाइएका छन्, यद्यपि इरानले अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकनलाई निशाना बनाएको दाबी गरेको छ ।
उता, इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिकासँग कुनै वार्ता नहुने बताएका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्या मुस्लिमविरुद्धको युद्धको घोषणा भएको बताउँदै बदला लिने बताए ।
द्वन्द्व अन्त्य गर्न चीनको आह्वान
चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्न आह्वान गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलनमा बोल्दै द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाही रोक्नुपर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।
द्वन्द्वमा परी १ जना चिनियाँ नागरिकको समेत मृत्यु भएको चीनले पुष्टि गरेको छ । सोमबारसम्म ३ हजारभन्दा बढी चिनियाँ नागरिकले इरान छाडेको जनाइएको छ ।
विदेशी विद्यार्थीलाई बाहिरिन अनुमति
तेहरानले देशको शैक्षिक संस्थानहरूमा अध्ययनरत विदेशी नागरिकहरूलाई इरान छाड्न अनुमति दिने घोषणा गरेको छ ।
यसबाहेक, विद्यार्थीहरूलाई उनीहरूको अन्तिम परीक्षाहरूमा उपस्थित हुन र उनीहरूको शोधपत्रका लागि पछि अनुमति दिइने र जसको मितिहरू पछि घोषणा गरिने त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ ।
इरानमा अहिले विश्वविद्यालय र सार्वजनिक संस्थाहरू अस्थायी रूपमा बन्द छन् भने अन्तर्राष्ट्रिय उडानहरू ठप्प गरिएको छ ।
इरानमा ६० हजारदेखि १ लाखसम्म विद्यार्थी रहेको अनुमान छ ।


विश्व खबर 



















