काठमाडौं- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । २०७९ को निर्वाचनमा रास्वपाबाट कैलाली-५ मा उम्मेदवार रहेका विष्ट रास्वपा धनगढीको संस्थापक नगरसभापति पनि हुन् ।
सोमबार धनगढीको रास्वपा सचिवालयमा भएको कार्यक्रममा विष्टलाई रास्वपा सुदूरपश्चिमकी सहमहामन्त्री करिष्मा कठरियाले पार्टी माला र खादा लगाउँदै पार्टीमा पुनः स्वागत गरेकी हुन् ।
विष्टलाई रास्वपा उम्मेदवार आनन्दबहमदुर चन्दसहितका नेताहरूले पनि स्वागत गरेका छन् ।
विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहनाभन्दा माथि उठेर रास्वपामा उम्मेदवार चन्दलाई समर्थन गरेको बताए ।
उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनुपर्ने बताए ।
‘मैलै व्यक्तिगत चाहनाभन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको हुँ । सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली-५ मा मतदातामा अनुरोध गर्दछु,’ विष्टले भने ।
कैलाली-५ मा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी र स्वतन्त्र उम्मेदवार इश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गरेका छन्।
दुवैले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै रास्वपा प्रवेश गरेका हुन् ।























