images
images
  • इरानी नागरिकलाई प्रदर्शनमा ननिस्कन रिभोल्युसनरी गार्ड्सको चेतावनी

    काठमाडौं- इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)को गुप्तचर इकाईले नागरिकलाई सडक प्रदर्शनमा सहभागी नहुन चेतावनी दिएको खुलासा भएको छ ।

    इरानभित्रबाट आफूलाई पठाइएका दुईवटा सन्देशका स्क्रिन सटमा यस्तो चेतावनी देखिएको भन्दै बीबीसीले समाचार छापेको छ ।

    ती सन्देशहरूमा सम्भावित प्रदर्शनलाई शत्रुको योजनाबद्ध सडक दङ्गा भनेर उल्लेख गरिएको छ ।

    साथै सुरक्षा अव्यवस्था गराउने कुनै पनि गतिविधि शत्रुसँगको प्रत्यक्ष सहकार्य मानिने चेतावनी पनि दिइएको छ ।

    अर्को सन्देशमा आईआरजीसीले नागरिकलाई कुनै पनि विरोधी-सुरक्षा गतिविधि देखेमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।

    आयतोल्लाह अली खामेनीको निधनपछि देशका विभिन्न सहरहरूमा सडकमा भेला भई उत्सव मनाइएको दृश्यहरू आफूले पुष्टि गरेको बीबीसीले बताएको थियो ।

    इरानका सरकारी तथा स्थानीय सञ्चारमाध्यमहरूले तेहरान लगायतका सहरमा शोकसभा पनि भइरहेको खबर पनि आएको थियो ।

    इरानका अधिकांश नागरिकका लागि इन्टरनेट सेवा अझै अवरुद्ध रहेकाले देशभित्रको वास्तविक अवस्था स्पष्ट रूपमा बुझ्न कठिन भइरहेको बताइएको छ ।

    केही व्यक्तिहरू भने स्याटेलाइट इन्टरनेट सेवा स्टार लिङ्कजस्ता माध्यम प्रयोग गरेर अनलाइनमा पहुँच बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images