काठमाडौं– अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणका कारण इरानमा कम्तीमा ५५५ जनाको मृत्यु भएको इरान रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ ।
शनिबारदेखि हालसम्म देशका १३१ सहरमा आक्रमण भएको जानकारी दिइएको छ ।
इरानी संसद्का सदस्य मोहम्मद बेइगीका अनुसार नौ वटा अस्पतालमा गम्भीर क्षति पुगेको छ ।
आइतबार भएका आक्रमणका क्रममा अस्पतालमा उपचाररत धेरै बिरामीसमेत घाइते भएका उनले बताएका छन् ।
इजरायल
इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता त्यहाँ कम्तीमा १० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
ज्यान गुमाउनेमध्ये नौ जना बेट शेमेशका बासिन्दा हुन् ।
उक्त सहरको एक आश्रयस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
लेबनान
दक्षिण लेबनान र बेरुतमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इराक
इराकमा इरान समर्थित अर्धसैनिक समूह पपुलर मोबिलाइजेसन फोर्सेसका चार सदस्य अमेरिका–इजरायली आक्रमणमा मारिएका छन् ।
उक्त समूहको मिडिया निर्देशनालयले सोमबार टेलिग्राममार्फत जानकारी दिएको हो ।
संयुक्त अरब इमिरेट्स
संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयका अनुसार, इरानको प्रत्याक्रमणका क्रममा त्यहाँ तीन जनाको मृत्यु भएको छ ।
कुवेत
कुवेतमा तीन अमेरिकी सैनिकको मृत्यु भएको जनाइएको छ ।
बहराइन
बहराइनको सलमान इन्डस्ट्रियल सिटीमा विदेशी जहाज नजिक खसेको क्षेप्यास्त्रको अवशेषबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।


विश्व खबर 



















