काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति इरानमा आक्रमण गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनवार्ता गरेका छन् ।
मोदीले यस वार्तामा इजरायल–अमेरिका र इरानबीच देखिएको द्वन्द्वको विषयमा छलफल भएको बताएका छन् ।
मोदीले एक्समा लेखेका छन्, ‘हालैको घटनाक्रमप्रति भारतको तर्फबाट गहिरो चिन्ता व्यक्त गरेँ । आम नागरिकको सुरक्षा सुनिश्चित गर्न ध्यान दिन भनेँ र तुरुन्तै लडाइँ रोक्न भारतको आग्रह दोहोर्याएँ ।’
त्यसअघि आइतबारै राति मोदीले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग पनि फोनमा कुरा गरेका थिए ।
मोदीले लेखेका छन्, ‘यूएईमा भएको आक्रमणको कडा निन्दा गरेको छु र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छु । यो कठिन समयमा भारत यूएईको साथमा छ ।’
यो घटनाक्रम अघि, अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लगायत करिब ४० जना शीर्ष नेता तथा अधिकारीको हत्या गरेका थिए ।
जवाफस्वरूप, इरानले इजरायल र अमेरिकी सैन्य अखडा भएका यूएईसहितका खाडी मुलुकहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ ।


विश्व खबर 



















