images
images
  • रास्वपाको झण्डा फहराएको गाडीमा चामल र रक्सी बरामद, २ जना पक्राउ

    सल्यान– सल्यानमा चुनावी प्रचारका क्रममा प्रयोग भइरहेको जिपबाट चामल, मदिरा र अन्य सामग्री बरामद भएको छ ।

    सोमबार बिहान करिब पौने १० बजे बनगाड–कुपिण्डे नगरपालिका–१, सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा राखिएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा उक्त सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

    प्रहरीका अनुसार जिपबाट दुई बोरा चामल, २१० बोत्तल मदिरा, दुई कार्टुन बियर तथा तीन कार्टुन खाने तेल बरामद गरिएको छ ।

    घटनासँग सम्बन्धित भन्दै प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र बनगाड–कुपिण्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार चालक बुढाथोकीले बरामद सामान बिसीकै भएको र बनगाड–कुपिण्डे–५ खैरागारतर्फ पुर्‍याउन भनेकाले आफूले गाडीमा राखिदिएको बयान दिएका छन् ।

    निर्वाचनलाई लक्षित गरी ती सामग्री वितरण गर्न सकिने आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक भट्टराईले बताए । ‘चुनावमा बाँड्न लागेको आशंकामा हामीले नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

    घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।

    सल्यानमा कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपाका उम्मेदवार छन् ।

    यसअघि शनिबार राति मोरङ जिल्लामा पनि प्रहरीले नेपाली कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो ।

    उक्त गाडीबाट साढे चार लाख रुपैयाँ नगद र प्रचार सामग्री बरामद भएको प्रहरीले जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images