images
images
  • खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन, अमेरिकी दूतावासमै मारिए २० पाकिस्तानी

    कराँची– अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा आयातोल्लाह अली खामेनी मारिएको खबर सार्वजनिक भएपछि पाकिस्तानका प्रमुख सहरहरूमा व्यापक प्रदर्शन र हिंसात्मक झडप भड्किएको छ ।

    आइतबार देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    शिया समुदायको बाहुल्यता रहेका क्षेत्रमा प्रदर्शनले उग्ररूप लिएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको जनाएको छ ।

    झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

    इस्लामावादको ‘रेड जोन’ नजिक हजारौँ प्रदर्शनकारी भेला भएर अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

    घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाएका थिए, जसका कारण इस्लामावादस्थित सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

    कराँचीमा प्रदर्शनकारीले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट तोड्दै मुख्य भवनका झ्यालहरूमा क्षति पुर्‍याएपछि स्थिति झनै तनावग्रस्त बनेको थियो ।

    सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको आदेश दिएका छन् ।

    उत्तरी पहाडी क्षेत्र गिल्गिट-बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ ।

    पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको औपचारिक निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कूटनीतिक र राजनीतिक कदम नचालेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।

    यसैबीच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई भिडभाड हुने क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

    सन् १९७९ मा पनि यस्तै अफवाहपछि पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगजनी भएको ऐतिहासिक पृष्ठभूमि यसपटकको घटनासँग जोडेर हेरिएको छ ।

    लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको निधनप्रति शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images