काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शनिबार गरिएको हमलापछि विकसित परिस्थितिबारे बोल्दै अमेरिकी सैनिकको मृत्यु संख्या प्रारम्भिक अनुमानभन्दा बढी हुन सक्ने बताएका छन् ।
The New York Times सँगको कुराकानीमा ट्रम्पले सुरुमा तीन जना सैनिक मारिएको विवरण आएको उल्लेख गर्दै वास्तविक संख्या अझै बढ्न सक्ने संकेत गरेका हुन् ।
“तीन जना मारिनु पनि धेरै हो । तर, प्रारम्भिक प्रतिवेदनहरू हेर्दा मृतकको संख्या बढ्न सक्छ,” उनले भने ।
यसअघि CNN ले तेहरानमा भएको हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदा तीन जना अमेरिकी सैनिक मारिएको जनाएको थियो ।
रिपोर्टअनुसार आइतबार बिहान इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणमा ती सैनिकको मृत्यु भएको बताइएको छ ।
इरानले मध्यपूर्वका आठभन्दा बढी देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै लगातार हवाई आक्रमण गरिरहेको दाबी गरिएको छ ।
यही पृष्ठभूमिमा मृतकको संख्या अझै बढ्न सक्ने आशंका राष्ट्रपति ट्रम्पले व्यक्त गरेका हुन् ।
यसैबीच अमेरिकी रक्षा मन्त्रालय Pentagon ले इरानविरुद्धको सैन्य कारबाहीबारे सोमबार पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ८ बजे पत्रकार सम्मेलन गरी आक्रमणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ ।
यद्यपि विभिन्न सञ्चार माध्यमले सयौँ अमेरिकी सैनिकको ज्यान गएको बताएका छन् ।


विश्व खबर 



















