images
images
  • एमाले र रास्वपाले नै खोलेनन् निर्वाचन बैंक खाता, के हुन सक्छ कारबाही ?

    काठमाडौं- निर्वाचन प्रचार खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन एमाले र रास्वपालगायत प्रमुख दलहरूले नै उल्लंघन गरेका छन् ।

    आयोगले ४ फागुनअगावै निर्वाचन प्रचारका लागि छुट्टै खाता खोलेर बैंकिङ कारोबार गर्न निर्देशन दिए पनि दल र उम्मेदवारले अटेरी गरेका हुन् ।

    आयोगका अनुसार आइतबारसम्म १३ दल र १ हजार ८६५ उम्मेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् ।

    ५० दल र १ हजार ५४१ उम्मेदवारले बैंकिङ च्यानलबाहिरै निर्वाचन खर्च गरिरहेका छन् ।

    आयोगले निर्वाचनमा दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यस्तो प्रचारप्रसारका लागि ‘निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ २० माघमा स्वीकृत गरी सार्वजनिक गरेको थियो ।

    यसले दल एवं उम्मेदवारले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्ने आयोगको अपेक्षा थियो ।

    आयोगले खुला प्रचार सुरु हुनुअगावै खाता खोल्न दल तथा उम्मेदवारलाई भनेको थियो ।

    आयोगका अनुसार प्रत्यक्षतर्फ ६५ दलका तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् ।

    त्यसैगरी, समानुपातिकतर्फ ५७ चिह्नमा ६३ दलले भाग लिएका छन् ।

    कार्यविधिअनुसार निर्वाचन प्रचारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार छुट्टै खातामार्फत गर्नुपर्ने हुन्छ ।

    यो निर्वाचन आचारसंहिताको पालनाभित्र पर्ने भन्दै कार्यान्वयन नगरिए दल र उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही हुनेछ।

    ऐनमा एक लाखसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था छ । दल तथा उम्मेदवारबाट अटेरी भए आयोगले जरिवानाको निर्णय गर्ने जनाइएको छ ।

    आयोगका अनुसार कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेमकिपा र राष्ट्रिय जनमुक्ति पार्टीले मात्र छुट्टै खाता खोलेका छन् ।

    एमाले, रास्वपा, राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले खाता खोलेका छैनन् ।

    त्यस्तै, यसै निर्वाचनमा उदाएका श्रम संस्कृति, उज्यालो नेपाल, प्रलोपा, गलोपालगायत दलले पनि चुनाव मितव्ययी र पारदर्शी बनाउने आयोगको निर्णयलाई उल्लंघन गरेका हुन् ।

    निर्वाचन आयोगका अनुसार निर्वाचन प्रचारका लागि छुट्टै खाता खोलेर बैंकिङ कारोबार गर्ने व्यवस्था नमान्नु आचारसंहिता उल्लंघन गरेको मानिने र त्यसअन्तर्गत कारबाही हुनेछ ।

    आचारसंहिता उल्लंघनमा अधिकतम एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्दसम्म हुनेछ ।

    त्यस्तै, दलले अर्को चुनाव लड्न नपाउने, उम्मेदवार हुन नपाउने ऐनमै व्यवस्था छ ।

    आयोगले कारबाहीको निर्णय गर्दा यही ऐनमा टेकेर गर्नेछ ।
    खाता नखोल्ने दल र उम्मेदवारहरूको निगरानी भइरहेको भन्दै उपयुक्त समयमा कानुनबमोजिम निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images