काठमाडौं– गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ ।
फागुन २१ मा हुने निर्वाचनमा प्रलोपा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्ने भएको छ ।
प्रलोपा जिल्ला अध्यक्ष नारायण खत्रीका अनुसार समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरिएको छ ।
‘दुई पार्टीबीच मिलेर जाने समझदारी बन्यो, त्यसअनुसार पार्टीले निर्णय गर्यो,’ खत्रीले भने ।
प्रलोपालाई गोरखामा कांग्रेसलाई सहयोग गर्ने निर्णय प्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।
यसअघि २०७४ को निर्वाचनमा पनि कांग्रेस र प्रलोपा बीच चुनावी तालमेल भएको थियो ।
त्यसबेला डा. भट्टराई गोरखा–२ बाट निर्वाचित भएका थिए ।
यसपटक पनि उनी उम्मेदवारी दर्ता गरेका थिए, तर पछि फिर्ता लिए ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो उम्मेदवार नभएको रूपन्देही–२ मा कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राप्रपा रूपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार, पार्टीका सिद्धान्त र विचार कांग्रेससँग फरक भए पनि आर्थिक, सामाजिक र समृद्धि सम्बन्धी मुद्दामा सहमति भएकाले पौडेललाई मतदान गर्ने निर्णय गरिएको हो ।
राप्रपाले २०७९ को निर्वाचनमा रूपन्देही–२ क्षेत्रमा समानुपातिकतर्फ करिब ५ हजार ६ सय मत प्राप्त गरेको थियो ।























