काठमाडौं- निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै काठमाडौं जिल्ला प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालको समय तोकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले विज्ञप्तिमार्फत् फागुन १८ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएका हुन् ।
यससँगै काठमाडौं जिल्लाभित्र होटेल, रेस्टुरेन्टलगायत रात्रिकालीन व्यवसाय राति ९ जबेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
नतिजा नआउन्जेल मदिरा प्रतिबन्ध
यस्तै, चुनावी सुरक्षालाई ध्यान दिँदै आज शनिबारदेखि काठमाडौंमा मदिरा बिक्रीवितरणमा पनि प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
चोकमा भेला भएर होली खेल्न रोकनिर्वाचन सुरक्षाका कारण काठमाडौं प्रशासनले यस वर्षको होली पर्वमा मञ्चमा सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ ।
सार्वजनिक स्थलमा भिडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गर्दै प्रशासनले कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवनसँगै अराजक गतिविधि कानुनविपरीत हुने बताएको छ ।
धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन भने बाधा नपर्ने प्रशासनले जनाएको छ ।
होलीको बहानामा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा, स्टिकर अंकित टोपी, टिसर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न पनि पाइनेछैन ।























