काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन आउनु एक महिनाअघि नै नेपाली सेना परिचालन भएसँगै दलहरुले चुनावी सुरक्षाप्रति चासो देखाएका छन् ।
खासगरी मतदानपछि मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा सेनालाई दिने तयारीप्रति उनीहरुको असहमति थियो ।
विगतका निर्वाचनमा मतपत्र ढुवानीको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हाल्दै आएका थिए । तर यसपालि असामान्य परिस्थितिमा निर्वाचन हुन लागेकाले सेनाको भूमिका बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले बताउँदै आएका छन् ।
दलहरुले आशंका गर्न थालेपछि सरकार पुरानै अभ्यास अनुरुप प्रहरीले मतपेटिका ओसार्ने निर्णयमा पुगेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मतदानपछि मतपेटिका ढुवानीबारे कुनै भ्रम नराख्न आग्रह गरेका छन् । एकीकृत सुरक्षा योजनाअनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै पुर्याउने स्पष्ट पारे ।
उनले शुक्रबार विराटनगरमा भने, ‘यसमा अलमलमा पर्नु पर्दैन । बाँकी काम मतदान अधिकृतले नै गर्ने हो । नेपाल प्रहरीको सहयोगमा गर्ने हो । त्यसको ढाँचा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।’
विगतकै अभ्यासअनुसार सुरक्षा घेरा कायम रहने उल्लेख गर्दै उनले अनावश्यक हल्ला र अन्योलमा नपर्न आग्रह गरे ।
मतदान केन्द्र र मतगणनास्थलको सुरक्षामा तीन तहको घेरा रहनेछ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ ।
सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले एकीकृत सुरक्षा योजनाअनुसार मतदान अधिकृतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिए ।
निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना-२०८२ अनुसार देशभर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन भइसकेका छन् ।
करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा खटिएका छन् । त्यस्तै, ७१ हजार नेपाल प्रहरी र झन्डै ३५ हजार सशस्त्र प्रहरी चुनावमा परिचालन गरिएको छ ।
१६५ वटै निर्वाचन क्षेत्रमा सेना र सशस्त्र प्रहरीका अस्थायी बेस स्थापना गरिएका छन् । सेनालाई लामो दूरी, मध्यम दूरी र छोटो दूरी गस्तीका लागि विभाजन गरेर परिचालन गरिएको छ ।
निर्वाचनविरोधी गतिविधि भए २०-३० मिनेटभित्र सेना र १० मिनेटभित्र सशस्त्र प्रहरी घटनास्थल पुग्ने गरी तयारी मिलाइएको छ ।























