लुम्बिनी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गरेका छन् ।
आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह गरे ।
सभापति थापाले भने, ‘नवयुवा रिसाएका छन्, उनीहरूसँग राम्रोसँग छलफल गर्नुस् । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुरालाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा आममतदाता र नवयुवालाई बताउनुस् ।’
उनले पार्टीले पाँच वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएकाले त्यसअनुसार देशलाई सम्हालेर अगाडि बढ्ने धारणा राखे ।
सभापति थापाले देशभित्रका समस्या मात्रै नभई भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान कांग्रेसको जित आवश्यक रहेको बताए ।























