काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ विद्रोहको दोस्रो दिन आगजनी र विध्वंसमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने औपचारिक धारणा सार्वजनिक रूपमा स्पष्ट नपारेको मात्र होइन, बरु त्यही आन्दोलनसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार बनाएको छ ।
यसले राजनीतिक जिम्मेवारी, नैतिक उत्तरदायित्व र विधिको शासनप्रतिको प्रतिबद्धताबारे गम्भीर प्रश्न उठाएको छ ।
भदौ २३–२४ का घटनामा को–को संलग्न थिए ?
कसले भीडलाई ब्यारिकेड तोड्न प्रेरित गर्यो ?
बालबालिकालाई अगाडि राख्ने निर्णय कसले गर्यो ?
दोस्रो दिन भएका योजनाबद्ध आगजनी र लूटपाटमा ‘हामी नेपाल’का ज्याकेटधारीहरूको उपस्थिति संयोग थियो कि रणनीतिक ?
यी प्रश्नको उत्तर छानबिन आयोगको प्रतिवेदनले दिनुपर्ने हो ।
तर, प्रतिवेदन सार्वजनिक नहुँदा आरोप–प्रत्यारोप, राजनीतिक लाभ–हानिको गणित र सामाजिक सञ्जालको आख्यानले सत्यलाई ढाकिरहेको छ ।
यदि कुनै गैरसरकारी संस्था, जसले आफूलाई समाजसेवाको आवरणमा प्रस्तुत गर्छ, विध्वंससँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएको प्रमाणित हुन्छ भने त्यो केवल कानूनी प्रश्न मात्र हुँदैन ।
त्यो नागरिक समाजप्रतिको विश्वासमाथिको प्रहार पनि हुन्छ ।
र, यदि निर्वाचित नेतृत्व वा राजनीतिक दलले त्यस्ता गतिविधिलाई मौन समर्थन, संरक्षण वा राजनीतिक अवसरका रूपमा प्रयोग गर्छ भने त्यो लोकतान्त्रिक उत्तरदायित्वमाथिको प्रश्न बन्छ ।
भदौ २३ र २४ का दिनहरू केवल दुई दिनका घटना होइनन् ।
ती राज्य, राजनीतिक नेतृत्व, नागरिक समाज र युवाको आक्रोशबीचको जटिल अन्तरसम्बन्धको दर्पण हुन् ।
ती दिनको सत्य बाहिर नआएसम्म ‘आन्दोलन’ र ‘अराजकता’, ‘विद्रोह’ र ‘विध्वंस’, ‘समाजसेवा’ र ‘संगठित रणनीति’ बीचको सीमारेखा स्पष्ट हुँदैन ।
यो प्रकरणले एउटा मूल प्रश्न छोडेको छ ।
आक्रोशलाई दिशा दिने नाममा यदि हिंसाको पूर्वतयारी र समन्वय गरिएको थियो भने त्यसको राजनीतिक लाभ कसले उठायो र कानूनी जिम्मेवारी कसले बहन गर्ने ?
लोकतन्त्रमा परिवर्तनको अधिकार नागरिकसँग हुन्छ, तर हिंसाको औचित्य कसैसँग हुँदैन ।
त्यसैले भदौ २३–२४ को सत्य सार्वजनिक हुनु केवल अतीतको हिसाब–किताब होइन, भविष्यका आन्दोलन र लोकतान्त्रिक अभ्यासको दिशानिर्देशन पनि हो ।























