images
images
  • साढे २८ खर्ब पुग्यो सार्वजनिक ऋण

    काठमाडौं- पछिल्लो ७ महिनामा नेपालको सार्वजनिक ऋण १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थपिएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा सार्वजनिक ऋण १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो ।

    चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

    चालु आवकै पुस मसान्तसम्मको प्रतिवेदनले सरकारले तिर्न बाँकी ऋण २८ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको देखाएको थियो  ।

    २०८१ साउन १ सम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ तिर्न बाँकी ऋण रहेको थियो । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४६।८१ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जिडिपीको २२.०९ र बाह्य २४.७२ प्रतिशत छ ।

    यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ तथा बाह्य ऋण भने १५ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ छ ।

    गत १ साउनसम्म तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड र वाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड थियो । सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

    साँवा र ब्याज भुक्तानीमा २ खर्ब खर्च

    चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब वार्षिक बजेट रहेकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९.५५ प्रतिशत हो ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ७ महिनामा सरकारले १ खर्ब ७० अर्ब ६१ करोड आन्तरिक ऋण तथा ३३ अर्ब ४ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।

    माघ मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ६३ अर्ब ५२ करोड र ब्याज भुक्तानीमा ४० अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपालको सार्वजनिक ऋणको दायित्व थपिएको अर्थविद्हरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images