काठमाडौं- टिकटकर तुलसा अधिकारीमाथि लागेको आपराधिक लाभ र ठगीको कसुरमा एक कांग्रेस नेतृको संलग्नता रहेको आरोप लागेको छ ।
पीडित भनिएका युवा परिवर्तित नाम शंकर चिमोरियाले तुलसाको हनीट्र्यापको जालोमा नेपाली कांग्रेसकी एक जना पूर्व केन्द्रीय सदस्यको समेत संलग्नता रहेको आरोप लगाएका छन् ।
चिमोरियाले तुलसा अधिकारीसँग मिलेर कांग्रेसकी एक नेतृले आफूलाई अपहरण गरेको र तुलसासँग नमिले ज्यान जानेसम्मको धम्की दिएको आरोप लगाएका हुन् ।
चिमोरियाका अनुसार तुलसासँग विवाद बढ्दै जाँदा कांग्रेसकी एक नेतृले अरू तीन जना गुन्डाहरूलाई समेत लिएर आफ्नो अटो शोरुममा आएको र आफूलाई अपहरण गरेर लगेको बताए ।
उनका अनुसार कांग्रेसकी ती नेतृले आफू आरजु राणाको नजिकको व्यक्ति भएको र तँलाई सिद्ध्याइदिन्छु भन्नेसम्मको धम्की दिएको र तुलसालाई सपोर्ट गर्न धम्की दिएको बताए ।
तुलसाले आफूसँग पटकपटक पैसा माग्न थालेको र आफूले पैसा दिन नसक्ने बताएपछि तुलसासँग विवाद बढ्न थालेकै समयमा कांग्रेसकी ती नेतृ अटो शोरुममै आएर आफूलाई अपहरण गरी लगेको बताए ।
आफूलाई चार जनाको समूहले अपहरण गरी दुई जना अगाडि र दुई जना पछाडि बसी बिचमा राखेर अपहरण गरी सिध्याउनेसम्मको धम्की दिएको उनको आरोप छ ।
शंकरका अनुसार आफूले तुलसालाई थप रकम दिन नसक्ने र आफूले दिएको रकम फिर्ता पाउनुपर्ने दाबी राखी कानुनी उपचारमा जाने तयारी गरिरहेको कुरा बताएपछि तुलसा अधिकारी र ती कांग्रेस नेतृले बलात्कारको जाहेरी तयार पारेर दर्ता गराइदिने कि मिलापत्र गर्ने भनेर धम्काएका थिए ।
शंकरका अनुसार ती कांग्रेस नेतृकै घरमा बस्ने नेलिका लामिछाने नाम गरेकी युवतीले आफूलाई भेटेर बलात्कारको जाहेरी देखाएको र मेलमिलाप नगरे दर्ता गरेर फसाइदिने धम्की दिएकी थिइन् ।
उनले भने, ‘म नामै लिएर भन्छु, उनको नाम नेलिका लामिछाने हो । उनी त्यही कांग्रेस नेतृको घरमा बस्थिन् । पछि मैले तुलसाको लागि किनिदिएको अप्रिलाको स्कुटर चलाउन थालिन् । त्यो स्कुटर पनि अहिले प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।’
शंकरका अनुसार नेलिका लामिछानेले तुलसा र कांग्रेस नेतृकै डिजाइनमा आफूलाई धम्काएको र पैसा दिन भनेका थिए ।
शंकरका अनुसार कांग्रेसकी ती नेतृले आफूलाई अपहरण गरी फिरौती लिने शैलीमा मेलमिलाप गर्न दबाब दिएको, आफ्नो श्रीमतीलाई समेत फोन गरेर धम्काएको र तुलसाको आपराधिक काममा उनको समेत संलग्नता भएको आरोप लगाएका छन् । -लोकपथबाट























