images
images
  • मानव अधिकार आयोगले पनि लुकायो जेनजी आन्दोलनको प्रतिवेदन

    काठमाडौं- पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने राष्ट्रिय मानव अधिकार आयोगले पनि २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनको प्रतिवेदन लुकाएको पाइएको छ ।

    सरकारले आन्दोलनक्रममा भएको मानवीय र भौतिक क्षति तथा त्यसमा संलग्नमाथि कारबाही सिफारिससमेत गर्ने अख्तियारी पाएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेका बेला संवैधानिक आयोगले समेत प्रतिवेदन गुपचुप राखेको छ ।

    राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा भएको मानव अधिकार हनन र ज्यादती विषयमा अनुसन्धान गर्न आयुक्त लिली थापाको संयोजकत्वमा २४ भदौमै पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।

    समितिले गत ७ फागुनअघि नै आयोगलाई प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाए पनि बिहीबारसम्म प्रतिवेदन गोप्य राखेको पाइएको हो ।

    एक समिति सदस्यका अनुसार अनुसन्धान सकेर प्रतिवेदन तयार भएर संयोजकसमक्ष पेस भइसकेको छ । तर, संयोजकले आयोग अध्यक्षसँग प्रतिवेदन बुझाउनेगरी कुनै कार्यतालिका अहिलेसम्म निर्धारण गरेका छैनन्।

    अनुसन्धान समिति संयोजक थापाले ७ फागुनअघि नै आयोग अध्यक्षसमक्ष प्रतिवेदन बुझाउने बताएकी थिइन् ।

    जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले आयुक्त थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।

    समितिले सबै सरोकारवालासँगको बयान, घटना र विषयवस्तु अवलोकन र अनुसन्धान सकेर प्रतिवेदन लेखन अन्तिम चरणमा पु¥याएको आयुक्त थापाले बताएकी थिइन् ।

    तर, १४ फागुनसम्म पनि प्रतिवेदन नबुझाएको विषयमा कुरा गर्न खोज्दा आयुक्त थापाले आफ्नो मोबाइल नम्बर ‘भ्याइस मेसेज मोड’मा राखेको पाइएको छ ।

    उनलाई ‘प्रतिवेदन विषयमा कुरा गर्न चाहेको’ भन्दै पठाइएको सन्देशको समेत जवाफ आएन ।

    समितिले प्रतिवेदन बुझाएलगत्तै आयोग आयुक्तको बैठक बस्ने र बैठकको निर्णयबाट प्रतिवेदन सार्वजनिक गर्ने र सरकारलाई कार्यान्वयनका लागि सिफारिस गर्ने तयारी आयोगले बताएको थियो ।

    तर, २१ फागुनको निर्वाचनका लागि मौन अवधि सुरु हुन लाग्दासमेत आयोगका सदस्यको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको छैन ।

    ‘अब सायद चुनावअघि यो प्रतिवेदन आयोगसमक्ष पेस हुँदैन, संयोजकज्यूले चुनावी माहोल छ, अहिले के बुझाउनु र भन्नुभएको छ,’ थापा संयोजकत्वमा गठित समितिका एक जना सदस्यले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images