images
images
  • झापामा चुनावी रिपोर्टिङ गर्दा एमाले कार्यकर्ताले गरे पत्रकारमाथि आक्रमण, मोबाइल र चस्मा खोसे

    काठमाडौं- चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

    झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् ।

    २५६१ नम्बरको स्कर्पियोमा चढेका भोलिएन्टर फोर्सका सदस्यहरुले आचार्यमाथि आक्रमण गरेका अर्का पत्रकार रोहित दाहालले जानकारी दिए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो र सचिवालयको टोलीलाई पछ्याउने क्रममा उक्त घटना घटेको हो ।

    सोही क्रममा स्थानीय महिलाहरूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द र व्यवहार प्रदर्शन गरेका थिए ।

    सोही द‌ृश्यको फोटो र भिडियो खिच्न खोज्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो।

    आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका छन् भने उनको चस्मासमेत फुटाइदिएका छन् ।

    आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ ।

    अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् ।

    आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images