images
images
  • १९ चोटी मन्त्री बनेका ‘दादा’ १०औँ पटक चुनावमा भिँड्दै, मतदाताको प्रश्न– तपाईंबाट हामीले के पायौँ ?

    जनकपुरधाम– साढे चार दशक लामो राजनीतिमा अनुभवी नेता शरतसिंह भण्डारी यसपटक जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी–२ मा चुनावी प्रतिस्पर्धामा छन् ।

    ७१ वर्षीय भण्डारी ‘दादा’ उपनामले परिचित छन् र यो उनको १०औँ चुनाव हो ।

    घरदैलो अभियानमा भण्डारीलाई कतिले सम्मानका साथ ‘दादा’ भन्दै स्वागत गरे भने कतिले १९ पटक मन्त्री हुँदा के–के काम गरे भनी प्रश्न गरेका थिए ।

    भण्डारीले जवाफ दिनुअघि आफ्ना कार्यकर्ताले विकास योजनाको सूची प्रस्तुत गरेका थिए ।

    उनले भने, ‘जनताको प्रश्न स्वाभाविक छ र यसले लोकतन्त्र बलियो बनाउँछ । यो मेरो अन्तिम निर्वाचन हो ।’

    प्रतिस्पर्धामा नयाँ र युवा नेताहरू पनि छन् ।

    नेपाली कांग्रेसकी किरण यादवले पुराना नेतालाई पराजित गर्नुपर्ने भन्दै मत मागिरहेकी छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक साहले ‘जनतालाई धोका दिने सबैलाई पराजित गर्नुपर्छ’ भन्दै प्रचार गरिरहेका छन् ।

    पछिल्ला निर्वाचनमा भण्डारीले ०७४ मा १६ हजार मतान्तरसहित, ०७९ मा पाँच दलीय गठबन्धनको समर्थनमा जितेका थिए ।

    महोत्तरी–२ मा हाल एक लाख सात हजार ५९४ मतदाता छन् र यस पटक ३७ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

    प्रतिस्पर्धीहरूमा जसपा नेपालबाट भण्डारी, नेपाली कांग्रेसबाट यादव, नेकपा (एमाले)बाट कासिम नदाफ, नेकपाबाट लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साह लगायत अन्य ३३ जना छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images