काठमाडौं– क्युबाको जलक्षेत्रमा प्रवेश गरेको एउटा संदिग्ध स्पिडबोटमाथि तटरक्षकहरूले गोली चलाउँदा ४ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
घटना बुधबार उत्तरी तटस्थित काये फाल्कोनेस नजिक भएको हो ।
क्युबाली सरकारका अनुसार १० जना सवार उक्त डुंगा फ्लोरिडा, संयुक्त राज्य अमेरिकाबाट आएको थियो र जलक्षेत्रमा प्रवेश गरेपछि सैनिकमाथि पहिले गोली प्रहार गरिएको थियो ।
त्यसपछि जवाफी कारबाही गरिएको बताइएको छ ।
एक क्युबाली सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
सरकारले डुंगामा सवार सबैजना अमेरिकामा बसोबास गर्ने क्युबाली नागरिक रहेको र आतंकवादी गतिविधि गर्ने उद्देश्य रहेको दाबी गरेको छ ।
केही व्यक्तिहरू आपराधिक पृष्ठभूमिसहित खोजी सूचीमा रहेको बताइएको छ ।
घटनाबारे अमेरिकी विदेशमन्त्री मार्को रूबिओले जानकारी लिइरहेको र तथ्य संकलन भइरहेको बताएका छन् ।
उपराष्ट्रपति जेडी भान्सले पनि ह्वाइट हाउसले घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन् ।
यस घटनाले पछिल्लो समय चिसिँदै आएको अमेरिका–क्युबा सम्बन्धमा थप तनाव बढ्ने अनुमान गरिएको छ ।


विश्व खबर 



















