झापा– झापा–५ मा यसपटक चुनावी प्रतिस्पर्धा असामान्य रूपमा चर्किएको छ ।
केपी शर्मा ओली र बालेन्द्र शाह आमनेसामने भएपछि दुवै नेताले आफ्नो रणनीति बदलेका छन् ।
छ पटक झापाबाट निर्वाचित भइसकेका ओली विगतमा केही सभा गरेर देश दौडाहामा निस्किन्थे ।
तर, यसपालि उनी झापा–५ मै सीमित छन् ।
मनोनयनपछि उनी दमकमा बस्दै कार्यकर्ता र मतदातासँग निरन्तर भेटघाट गरिरहेका छन् ।
विगतमा भाषणप्रधान अभियान चलाउने ओलीलाई यसपटक धेरै नबोल्न र घरदैलोमा केन्द्रित हुन सुझाइएको छ ।
बालेन्द्रको उम्मेदवारीले चुनावी समीकरण फेरिएको छ ।
सहरी क्षेत्रमा उनको प्रभाव उल्लेख्य देखिएको छ ।
सुरुवाती दिनमा ‘क्रेज’ देखिएपछि ओली गम्भीर बनेका हुन् ।
एमालेको संगठनात्मक मत जोगाउन उनी सक्रिय छन् ।
यता बालेन्द्रले पनि रणनीति परिवर्तन गरेका छन् ।
गाडीबाट मात्र हिँड्ने आरोपपछि उनले मतदातासँग प्रत्यक्ष संवाद बढाएका छन् ।
उनका सहयोगी र परिवारसमेत झापामा सक्रिय छन् ।
नयाँ पुस्ताको समर्थन आफ्नो पक्षमा रहेको उनको दाबी छ ।
झापा–५ मा कमल, गौरादह, गौरीगन्ज र दमक क्षेत्रका मतदाता विभाजित देखिन्छन् ।
पुराना मतदाता एमालेप्रति प्रतिबद्ध देखिए पनि युवा पुस्ता ‘नयाँ’ विकल्पतर्फ आकर्षित छ ।
श्रम संस्कृति पार्टी र अन्य दलका उम्मेदवारले पनि केही मत तानिरहेका छन् ।
यसपटकको प्रतिस्पर्धा ‘पुरानो बनाम नयाँ’ को रूप लिएको छ ।
विगतमा सहज जित निकाल्दै आएका ओलीका लागि यो चुनाव प्रतिष्ठाको लडाइँ बनेको छ भने बालेन्द्रका लागि राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेशको अवसर ।
झापा–५ को परिणामले राष्ट्रिय राजनीतिक सन्देशसमेत दिने देखिन्छ ।























