काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले देशभित्र चुनावी रापताप बढेको छ ।
रोजगारी, अध्ययनलगायत प्रयोजनका लागि देशबाहिर पुगेका नेपाली भोट हाल्नकै लागि स्वदेश फर्किँदै छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार पछिल्लो एक महिना (१२ माघदेखि १२ फागुनसम्म) मा एक लाख ५६ हजार २४१ नेपाली विदेशबाट फर्किएका छन् ।
संख्यात्मक दर हेर्दा पछिल्ला दिन बढ्दो देखिएको विभागले जनाएको छ ।
विदेशमा रहेका नेपालीहरू हवाईमार्गबाट भित्रिने संख्या केही मात्रामा बढेको तथ्यांकले देखाएको छ । फागुन लागेपछि मात्रै मंगलबारसम्म ६२ हजार ९१३ नेपाली विदेशबाट फर्किएका छन् ।
यो संख्या माघ महिनाको सोही अवधिको तुलनामा ६.०६ प्रतिशतले बढी हो । हाल दैनिक पाँच हजारभन्दा बढी प्रवासी नेपाल भित्रिरहेको विमानस्थल अध्यागमनको तथ्यांक छ ।
चुनावमा नयाँ दल र युवा उम्मेदवारप्रति आकर्षण बढेकाले भोट हाल्नकै लागि प्रवासबाट फर्किनेको संख्या बढिरहेको देखिन्छ ।
रोजगारीका लागि भारत गएकाहरू चुनावका लागि स्थलमार्ग हुँदै धमाधम फर्किरहँदा भोट हाल्नकै लागि भनेर तेस्रो मुलुकबाट फर्किएकाहरू पनि विमानस्थलमा भेटिन्छन् ।
पूर्वनिर्धारित योजनाअनुसार नै घर फर्किनेहरू स्वतः धेरै छन्, तर कतिपय भोट हाल्नकै लागि समय मिलाएर आएका छन् ।
फर्किनेहरू अधिकांशमा चुनावी उत्साह देखिन्छ ।
मंगलबार दिउँसो मलेसियाबाट आएको ‘बाटिक एयर’को विमान ल्यान्ड भएपछि केही समयमा यात्रुहरू बाहिरिन थाले । सुटकेट गुडाउँदै बाहिरिनेहरूको भिडमा भेटिए सुनसरीका मनोजकुमार यादव । आफ्ना दुवै सुटकेसमा उनले रास्वपा वरिष्ठ नेता बालेन साहको तस्बिर टाँसेका थिए । आफू ९ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएको र यसपटक भोट हाल्नकै लागि चुनावको छेको पारेर घर फर्किएको बताए ।
‘अहिले घर फर्किने पूर्वनिर्धारित योजना थिएन । चुनाव हुने निश्चित भएपछि भोट हाल्नकै लागि फर्किएको हुँ,’ उनले भने, ‘यसपालि पुराना दल र नेतालाई भोट दिन मन छैन । तिनीहरूले टेन्सन दिइसके । अब नयाँलाई भोट हाल्ने हो ।’
रोजगारी खोज्दै बिदेसिनुपर्ने बाध्यता नयाँ दलले हटाउने र देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उनको आशा छ ।
कुवेतबाट फर्किएका काठमाडौं सतुंगलका दुर्गाप्रसाद पाण्डे पनि विमानस्थलमै भेटिए । उनी रोजगारीका लागि कुवेत गएको ६ महिना मात्रै भएको रहेछ । भोट हाल्नकै लागि ६ महिनामै फर्किएको र नयाँ दल रोज्ने उनले सुनाए ।
कतारमा १८ वर्षदेखि रोजगारी गर्दै आएका बारा, कलैयाका विनोद चपर्नियालाई यसपटकको निर्वाचनमा प्रवासमा बसिरहन मन लागेन । उनी पनि मंगलबार घर फर्किसकेका छन् ।
उनीसँगै कतार एयरवेजबाटै काठमाडौं ओर्लिएका उदयपुर गाईघाटका राम रायमाझी पनि भेट भए । उनी खासमा अस्ट्रियाबाट फर्किएका रहेछन् । ‘म चुनावमा भोट हाल्नकै लागि आएको हुँ । बालेन र रविले देशका लागि केही गर्छन् कि भनेर मत दिन आएको हुँ,’ उनले भने ।
चुनावका लागि विदेशबाट फर्किने युवाहरूको भिडमा बैतडीका धीरेन्द्रबहादुर चन्द पनि थिए । -पत्रपत्रिकाबाट























