images
images
  • दलहरूको घोषणा पत्र : मतदातालाई प्रभावित पर्ने रणनीति हुँदा पर्यटनको मुद्दा ओझेलमा

    काठमाडौं- राजनीति दलहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी ल्याएको प्रतिबद्धता, वाचा, प्रतिज्ञा र घोषणा पत्रमा भौतिक पूर्वाधार, बाटोघाटो, पुलपुलेसा र विकासलाई बढी जोड दिएका छन् ।

    मतदातालाई प्रभावित गर्ने, भुलाउने योजना र कार्यक्रमलाई प्राथमिकता दिँदा पर्यटन, वातावरण र जलवायु परिवर्तनका विषय र मुद्दा ओझेलमा परेको सरोकारवालाहरू बताएका छन् ।

    नेपालको पर्यटनले राम्रो सम्भवना बोकेको छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधता, मनमोहक विश्वप्रसिद्ध प्राकृतिक सौन्दर्य, चरा, वन्यजन्तु आकर्षण बोकेका उत्कृष्ट स्थल यही छन् ।

    ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र उत्कृष्ट आतिथ्य संस्कृतिका कारण नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थल हो ।

    प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण हाल विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको बिधाका रूपमा पर्या–पर्यटन रहेको छ।

    तर, यी कुरामा दलहरूले दूरदृष्टि राखेर काम नगर्दा नेपालले अपेक्षित फाइदा लिन सकिरहेको छैन । बर्षेनि करिब ४२ हजार नेपालीको अकालमा ज्यान लिने वायु प्रदूषण, जलवायु परिवर्तनले हिमाल र मानवलाई पारिरहेको असरप्रति संवेदनशील नहुनु र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलाई न्यूनीकरण गर्न दलले खासै प्राथमिकतामा राखेको पाइदैन् ।

    त्यस्तै दिगो पर्यटन पूर्वाधार निर्माण गर्ने र नयाँ गन्तव्यहरूको पहिचान तथा प्रवर्द्धन गर्ने विषयलाई दलले ओझेलमा राखेका छन् ।

    क्षेत्रफलका हिसाबले विश्वमानचित्रमा नेपाल निकै सानो भए पनि जैविक विविधताका दृष्टिले अग्रणी स्थानमा छ। नेपालमा ३ सय ५० प्रजातिका वनस्पति र १ सय ६० प्रजातिका जीवजन्तु रैथाने छन्, जो अन्त कतै पाइदैनन्।

    नेपालमा विश्वका झन्डै नौ प्रतिशत चराका प्रजाति तथा २ प्रतिशत फूल फुल्ने वनस्पतिका प्रजाति पाइन्छन्। त्यस्तै ९ सय ३ प्रजातिका चरा र ६ सय ९५ बढी पुतलीका प्रजाति पाइन्छन् । तराईदेखि हिमाली क्षेत्रसम्म पाइने वनस्पति तथा जीवजन्तुमा ठूलो विविधता छ।

    प्रदूषण न्यूनीकरण गर्दै प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्ने, पर्यापर्यटनको फाइदा सिधैं स्थानीय ग्रामीण जनजीवनसम्म जोड्ने र जनस्तरमा विकास कार्यलाई प्रोत्साहन गर्ने नीति, योजना र कार्यक्रम अघि सानु पर्छ ।

    एक अध्ययनले देखाए अनुसार नेपाल आउने विदेशी पाहुनामध्ये ६० प्रतिशतभन्दा पनि बढीले हाम्रा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको भ्रमण गर्न मन पराएको देखिन्छ ।

    प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण हाल विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको बिधाका रूपमा पर्यापर्यटन अग्रणी स्थानमा रहेको छ।

    पर्या–पर्यटनको विकासकालागि राजनीतिक प्रतिबद्धता मात्र होइन, स्पष्ट कार्ययोजना, बजेट सुनिश्चितता र जवाफदेहिता सहित युद्धस्तरको सुधार पर्खिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images