काठमाडौं– भावी प्रधानमन्त्रीका आकांक्षीमध्येका दुई जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ यसपटक एउटै निर्वाचन क्षेत्रबाट आमनेसामने भएका छन् ।
फागुन २१ गते हुने निर्वाचनको परिणाम सार्वजनिक हुँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट यी दुईमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ ।
चार पटक प्रधानमन्त्री भइसकेका ओली नेकपा (एमाले)का अध्यक्ष हुन् भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता हुन् ।
नेपालको चुनावी इतिहासमा उच्च राजनीतिक पदमा रहेका व्यक्तिहरू पराजित भएका धेरै उदाहरण छन् ।
बहालवाला प्रधानमन्त्रीदेखि शक्तिशाली पार्टी प्रमुखसम्म मतदाताबाट अस्वीकृत भएका घटनाहरूले लोकतान्त्रिक प्रक्रियालाई रोचक बनाएका छन् ।
यहाँ त्यस्ता केही ऐतिहासिक प्रतिस्पर्धाहरूको पुनर्स्मरण गरिएको छ ।
गणेशमानसँग पुष्पलाल श्रेष्ठको पराजय
विसं. २०१५ सालको पहिलो आमनिर्वाचनमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गणेशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यो चुनावमा सिंहले करिब तीन हजार मतान्तरले पुष्पलाललाई पराजित गरे ।
त्यसबेला नेकपाको नेतृत्व केशरजंग रायमाझीले गरिरहेका थिए ।
पाल्पाबाट उम्मेदवारी दिएका रायमाझी स्वयं पनि पराजित भए ।
पत्रकार तथा लेखक जगत नेपालले आफ्नो पुस्तक ‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’ मा उल्लेख गरेअनुसार त्यस चुनावमा पूर्वप्रधानमन्त्रीहरू केआई सिंह र टंकप्रसाद आचार्य समेत पराजित भएका थिए ।
त्यतिबेला नौ वटा पार्टी प्रतिस्पर्धामा थिए, तर नेपाली कांग्रेसका नेता बीपी कोइराला बाहेक अधिकांश दलका प्रमुखहरू हार व्यहोर्न बाध्य भए ।
मदन र विद्यासँग ‘किसुनजी’को हार
विसं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार बने ।
उनका प्रतिस्पर्धी थिए एमालेका लोकप्रिय महासचिव मदन भण्डारी ।
तीव्र प्रतिस्पर्धात्मक उक्त निर्वाचनमा भण्डारी झिनो मतान्तरले विजयी भए ।
दुई वर्षपछि दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधन भएपछि भएको उपनिर्वाचनमा भट्टराई पुनः प्रतिस्पर्धामा उत्रिए ।
तर, यसपटक उनी मदनकी पत्नी विद्या भण्डारीसँग पराजित भए ।
पार्टीभित्रको शक्ति संघर्ष, विशेषतः गिरिजाप्रसाद कोइरालासँगको सम्बन्ध, भट्टराईको पराजयको कारणमध्ये एक मानिन्छ ।
माधवकुमार नेपालको दोहोरो हार
विसं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले अध्यक्ष माधवकुमार नेपाल काठमाडौं–२ र रौतहट–१ दुवै क्षेत्रबाट पराजित भए ।
काठमाडौंमा उनलाई माओवादीका झक्कु सुवेदीले पराजित गरे भने रौतहटमा स्वतन्त्र उम्मेदवार बबन सिंह विजयी भए ।
यद्यपि पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई मनोनीत कोटाबाट संविधानसभामा प्रवेश गरायो र उनी प्रधानमन्त्रीसमेत बने ।
२०६४ को चुनावः शक्तिशाली नेताहरूको पतन
पहिलो संविधानसभा निर्वाचनमा माओवादी उदयसँगै धेरै प्रभावशाली नेताहरू पराजित भए ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा धनकुटाबाट चौथो भए ।
राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकमा पराजित भए ।
झापामा एमाले नेता केपी शर्मा ओली माओवादीका उम्मेदवारसँग पराजित भए ।
कांग्रेसका उपसभापति सुशील कोइराला बाँकेबाट पराजित भए ।
त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्लाही–४ बाट हार्न पुगे ।
दोस्रो संविधानसभा र त्यसपछिका पराजय
विसं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंबाट पराजित भए, यद्यपि सिराहा–५ बाट निर्वाचित भए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए ।
एमाले अध्यक्ष झलनाथ खनाल सर्लाहीमा हार्न पुगे ।
नयाँ संविधानपछि दुई स्थानबाट उम्मेदवारी दिन नपाउने प्रावधान लागू भयो ।
२०७४ को निर्वाचनमा राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ बाट पराजित भए ।
२०७९ सालको निर्वाचनमा सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका सीके राउत सँग पराजित भए ।
पछि यादव बारा–२ को उपनिर्वाचनबाट संसद्मा फर्किए ।
संसद् कमजोर हुन्छ ?
उपप्राध्यापक जगत नेपालका अनुसार ठूला नेताहरू हार्दा संसद्को प्रभावकारिता कमजोर हुने जोखिम रहन्छ ।
पार्टीहरूले सुरक्षित नेतृत्व संसद्मा नपाउँदा नीति निर्माणमा अस्थिरता देखिन सक्छ ।
निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङका अनुसार द्वन्द्वपछिका चुनावहरूमा अप्रत्याशित परिणाम आए पनि विधि र प्रक्रियाको पालना भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वीकार्यता प्राप्त भएको थियो ।
उनका अनुसार प्रतिष्ठित नेताबीच प्रतिस्पर्धा हुने क्षेत्रमा निर्वाचन प्रक्रिया अझ पारदर्शी र कानुनसम्मत हुनुपर्छ ।
त्यसो भए मतपरिणामप्रति प्रारम्भिक असन्तुष्टि भए पनि अन्ततः स्वीकार्यता बढ्छ ।
झापा–५ मा ओली र बालेनबीचको प्रतिस्पर्धा पनि यस्तै ऐतिहासिक परिप्रेक्ष्यमा हेरिएको छ ।
नेपाली मतदाताले समय–समयमा शक्तिशाली नेताहरूलाई पनि पराजित गर्दै लोकतान्त्रिक अभ्यासलाई जीवित राख्दै आएका छन् ।
यसपटक पनि मतदाताको निर्णयले नेपाली राजनीतिमा नयाँ सन्देश दिने निश्चित छ । –बीबीसी नेपाली























