काठमाडौं– २३–२४ भदौको ‘जेनजी आन्दोलन’ क्रममा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत संरचनामा आगजनी तथा तोडफोडमा संलग्न अभियुक्तहरू अनुसन्धान पूरा नहुँदै रिहा हुन थालेका छन् ।
प्रहरी स्रोतका अनुसार मुद्दा दर्ताका लागि फाइल सरकारी वकिलको कार्यालय पुगेको अवस्थामा पनि गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबपछि कारबाही अगाडि नबढाइएको आरोप छ ।
६ महिनाको हदम्याद २४ फागुनमा सकिने भएकाले त्यसअघिसम्म मुद्दा अदालत नपुर्याई फाइल बन्द गर्ने रणनीति देखिएको प्रहरी–सरकारी वकिल स्रोत बताउँछन् ।
काठमाडौं प्रहरीले मात्रै सयौँ व्यक्तिविरुद्ध अनुसन्धान गरिरहेको र २५२ मुद्दा चलाउने तयारी गरेको जनाएको छ, तर सरकारी वकिलको कार्यालयले हदम्याद वा मन्त्रालयीय निर्देशन देखाएर मुद्दा नचलाउने निर्णय गरिरहेको आरोप छ ।
यसबीच सिंहदरबार आगजनी अभियोगमा पक्राउ परेका महेन्द्र गौतमलाई हिरासतमुक्त गरिएको छ ।
सर्वोच्च अदालत आगजनी प्रकरणका पाँच जना पनि हाजिर जमानीमा रिहा भएका छन् ।
करिब १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी क्षति दाबी गरिए पनि २४ फागुनअघि मुद्दा चल्ने सम्भावना न्यून रहेको बताइन्छ ।
गृह मन्त्रालयले ९ असोजमा आयोग गठन भएको उल्लेख गर्दै नियमित संयन्त्रबाट कारबाही नबढाउन परिपत्र गरेको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन आयोगको प्रतिवेदन पनि अझै सार्वजनिक भएको छैन ।
सरकारी वकिलहरूका अनुसार महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्देशनमै मुद्दा दर्ता प्रक्रिया आलटाल भइरहेको छ ।























