images
images
  • चुनाव भाड्ने समूहबाट सरकार त्राहिमाम्, मतपेटिका मतदान र गणनास्थल पुर्‍याउने जिम्मा सेनाको काँधमा

    काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि यसपालि मतदानपछि मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

    विगतका निर्वाचनमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरी मात्र खटिँदै आएका थिए ।

    ‘असामान्य परिस्थिति’लाई मध्यनजर गर्दै सेनाको भूमिका विस्तार गरिएको निर्वाचन आयोग र गृह मन्त्रालय ले जनाएका छन् ।

    ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार देशभर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन भएका छन् ।

    सेनाका करिब ८० हजार, नेपाल प्रहरीका ७१ हजार र सशस्त्र प्रहरीका करिब ३५ हजार सुरक्षाकर्मी खटिएका छन् ।

    आवश्यक परे संयुक्त कमान्डसमेत सेनाले लिने व्यवस्था गरिएको छ ।

    देशभर ११ हजार ९ सय १ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् ।

    तीमध्ये ४ हजार १ सय १४ मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।

    मतदानपछि मतपेटिका लुटपाट वा तोडफोडको जोखिमलाई ध्यानमा राख्दै बाहिरी सुरक्षा घेरा सेनाले सम्हाल्नेछ भने भित्री सुरक्षामा नेपाल प्रहरी रहनेछ ।

    सरकारले निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, सीमा नाकामा कडाइ तथा इजाजतप्राप्त हतियार बुझाउन निर्देशन दिएको छ ।

    लुटिएका हतियार र फरार कैदीबन्दीलाई मुख्य सुरक्षा चुनौती मानिएको छ ।

    सरकारले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै सुरक्षा संयन्त्र चुस्त राखिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images