images
images
  • भोलिसम्म सबै जिल्लामा मतपत्र पुग्ने

    काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने काम भइहरेको छ ।

    मंगलबार राति सम्ममा ७० जिल्लामा मतपत्र पुगिसक्ने निर्वाचन आयोगका अधिकृतहरू बताउँछन् ।

    भक्तपुरको सानोथिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको सुरक्षा सेनाले गरेको छ ।

    मतपत्र ढुवानीको स्कर्टिङ पनि सेनाले नै गरेर जिल्लाहरूमा पठाउने काम भइरहेको छ ।

    काठमाडौं उपत्यकाबाट नजिकका केही र तराईका ३ वटा जिल्लामा मतपत्र पुग्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार केही जिल्लामा पुग्न बाँकी छ, भोली साँझसम्म पुग्छ ।

    निर्वाचन आयोगले मतपत्रबाहेक अन्य निर्वाचन सामग्री पनि अधिकांश जिल्लामा पठाइसकेको छ ।

    निर्वाचन सामग्री ढुवानीको स्कर्टिङ सशस्त्र प्रहरी बलले गरिरहेको छ । ७७ वटै जिल्लामा निर्वाचन सामग्री पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

    निर्वाचन सामग्री सदरमुकाममा पुगे पनि उच्च हिमाली जिल्लामा चिसोका कारण कसरी ढुवानी गर्ने भन्नेबारे मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा छलफल भएको थियो ।

    हुम्ला, डोल्पा, मुगु र मनाङस्थित उच्च हिमाली क्षेत्रमा चिसोका कारण ढुवानीमा समस्या रहेको छलफल भएको छ ।

    चार वटा जिल्लामा मतदाता र सुरक्षाकर्मीहरू समेत चिसो छल्न बेसी झरेका छन् ।

    चिसो मौसमको प्रभाव रहेका जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री र जनशक्ति पठाउनेबारे आयोगले छलफल गरिरहेको जनाएको छ ।

    उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधीहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images