काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभर ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा ‘हेभिवेट’ भिडन्तका कारण विशेष चासो देखिएको छ। झापा–५, सर्लाही–४ र चितवन–३ यतिबेला सबैभन्दा बढी चर्चामा रहेका क्षेत्र हुन्।
झापा–५ : ओली–बालेन आमनेसामने
झापा–५ मा केपी शर्मा ओली र बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। प्रमुख दलहरूले दुवैलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यो क्षेत्र राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।
२०४८ सालदेखि यस क्षेत्रमा ओलीको वर्चस्व कायम छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक उनलाई कसैले पराजित गर्न सकेको छैन। यसपटक भने पहिलो पटक संसदीय चुनाव लडिरहेका बालेनले चुनौती थपेका छन्। दुवै उम्मेदवार यतिबेला घरदैलो र मतदाता भेटघाटमा सक्रिय छन्। अघिल्ला निर्वाचनमा क्षेत्रमा कम समय दिएको आरोप खेप्दै आएका ओली यसपटक भने निरन्तर मैदानमै छन्।
झापा–५ मा कुल २४ जना उम्मेदवार छन्, जसमध्ये ९ जना स्वतन्त्र हुन्। ओली र बालेनबाहेक नेपाली कांग्रेसकी मन्धरा चिमोरिया, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, जसपाका धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतो, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जगेबु, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई चुनावी मैदानमा छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङ, नेकपा (माओवादी) का सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइली र पिपुल फस्ट पार्टीका धर्मराज गुरागाई पनि उम्मेदवार छन्। स्वतन्त्रतर्फ अर्जुन सापकोटा, खेमनाथ सिवाकोटी, डम्बर साहु, प्रकाश नेपाल, पुष्कर खतिवडा, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाई र शोभा भण्डारीले उम्मेदवारी दिएका छन्।
यद्यपि उम्मेदवार संख्या धेरै भए पनि चुनावी चर्चा भने मुख्यतः ओली र बालेनकै वरिपरि केन्द्रित देखिन्छ।
सर्लाही–४ : गगनको भविष्य दाउमा
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहबीच प्रतिस्पर्धा छ। कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने अमरेश यसअघि दुई पटक कांग्रेस र एक पटक स्वतन्त्रबाट सोही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन्।
देशभर नयाँ शक्ति उदाएको सन्दर्भमा गगनले काठमाडौँ–४ छाडेर सर्लाही–४ रोजेका छन्। उनी पराजित भए प्रधानमन्त्री बन्ने सम्भावना यो कार्यकालका लागि अन्त्य हुन सक्छ, जसले कांग्रेस नेतृत्वमाथि समेत प्रश्न उठाउन सक्छ। यही कारणले पनि यो क्षेत्र राष्ट्रिय चासोमा परेको छ।
सर्लाही–४ मा दलबाट १३ र स्वतन्त्रतर्फ १७ गरी कुल ३० उम्मेदवार छन्। एमालेबाट अमनिसकुमार यादव, नेकपाबाट रजनिस राय, राप्रपाका प्रदीप कुमार झा, जसपा नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्र, प्रलोपाका रामचरित्र सहनी, नेकपा (संयुक्त) का रामनाथ प्रसाद साह, उज्यालो नेपाल पार्टीका पीताम्बर सिंह कुशवाह, बहुजन एकता पार्टी नेपालका हरिनन्दन कुमार रन्जन, राष्ट्रिय मुक्ति पार्टीका उदयकान्त मिश्र र आमजनता पार्टीकी रिंकीकुमारी साह उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारतर्फ अजय ओझा, अमितरन्जन सिंह, अम्बुज प्रसाद साह, अरविन्दकुमार ठाकुर, कमलेश मण्डल, गनेशप्रसाद सिंह, चुनचुन भण्डारी, छोटेलाल कुमार यादव, जयशंकर सिंह कुशवाह, धीरज ठाकुर, नरेन्द्रप्रसाद सिंह, निलेशकुमार यादव, मधुमाला कुमारी यादव, महेशमण्डल धानुक, मुकेशप्रसाद कुशहवा, रमण मिश्र र रामप्रवेश यादव छन्।
उम्मेदवार संख्या धेरै भए पनि यहाँको चुनावी बहस गगन र अमरेश वरिपरि केन्द्रित छ। सर्लाही–४ मा अघिल्ला निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको इतिहास छ।























