काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब देश विकास–निर्माणको युगमा प्रवेश गरेको दाबी गरेका छन् ।
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिको बचाउ गर्दै उनले निर्माण व्यवसायीहरू आत्तिन नपर्ने बताए ।
‘बाँध्ने भनेको कानुनले हो, डोरीले होइन,’ उनले भने, ‘कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’
धनगढीको सभामा बालेनले ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारबाही गरिने चेतावनी दिएका थिए ।
लामिछानेले गगन थापातर्फ लक्षित गर्दै २० वर्ष सांसद र मन्त्री भइसकेपछि मात्र कानुन फेर्नुपर्ने ज्ञान आएको टिप्पणी गरे ।
साथै विकासका काम दुई–तीन सिफ्टमा सञ्चालन गरिने र आवश्यक उपकरण ल्याएर तीव्र गतिमा काम अघि बढाइने उनले बताए ।
उता, इटहरीको सभामा बालेनले स्वदेशमै उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने धारणा राखे ।
यसका साथै उनले भारतले नेपाली बजारमा कब्जा जमाएको संकेत गरे ।
पूर्वी पहाडमा उत्पादन भएको तरकारी तराईका सहरमा नपुग्नु दुःखद भएको भन्दै उनले पूर्वी तराईका जिल्लामा पूर्ण क्षमतामा धान उत्पादन गर्न सके देशभर आपूर्ति गर्न सकिने बताए ।























