सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ ।
करिब १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेको यस क्षेत्रमा मतदाताले कसलाई संसद् भवन पठाउने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
तर प्रमुख दल र नयाँ शक्तिका उम्मेदवारहरू भने आफ्नै जित सुनिश्चित हुने दाबी गर्दै घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।
२०४८ सालदेखि निरन्तर नेकपा एमाले ले जित्दै आएको यो क्षेत्र २०६४ र २०७९ सालमा भने अपवाद बनेको थियो ।
२०६४ मा तत्कालीन नेकपा माओवादी केन्द्रका किरण राई विजयी भएका थिए भने २०७९ मा एमालेकै समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई निर्वाचित भएका थिए ।
यसपटक भने एमालेको परम्परागत प्रभाव क्षेत्र मानिने सुनसरी–१ मा श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीले समेत बलियो चुनौती दिएका छन् ।
एमालेका टीकाराम लिम्बू : ‘सक्रिय सदस्य सबै परिचालित भए जित सुनिश्चित’
एमालेका उम्मेदवार टीकाराम लिम्बूले यस क्षेत्रमा सबैभन्दा बढी सक्रिय सदस्य एमालेकै रहेको दाबी गर्दै ती सबै चुनावी अभियानमा परिचालित भई मतदान गरे आफू विजयी हुने बताएका छन् ।
उनले पाँच वर्ष सांसद बनेर मुलुक र जनताको हितमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धरान, पाचकन्या, विष्णुपादुका, बराहक्षेत्रदेखि मधुवनसम्मका मतदाताले साथ दिने उनको विश्वास छ ।
विशेषगरी कोशी बाढीबाट विस्थापित ८ हजार घरधुरीको समस्या समाधानका लागि संघीय तहमा ठोस कानुन र नीति निर्माणमा पहल गर्ने उनले बताए ।
संविधान र कानुन विषय अध्ययन गरेको उल्लेख गर्दै उनले कोशी पीडितलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता दोहोर्याए ।
नेपाल–भारतबीच कोशी सम्झौतापछि भिमनगरमा निर्माण गरिएको कोशी ब्यारेजका कारण २०२२ देखि २०४२ सालसम्म आएको बाढीले सुनसरी र सप्तरीका करिब ५० हजार मानिस विस्थापित भए पनि दीर्घकालीन समाधान अझै हुन सकेको छैन ।
लिम्बूले स्थानीय विकासका एजेन्डा प्रदेश र स्थानीय तहअन्तर्गत पर्ने भए पनि संघीय संसद्मा पुगेर शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, उद्योग–व्यवसाय तथा प्रशासनिक क्षेत्रमा रहेका नीतिगत जटिलता हटाउन पहल गर्ने बताए ।
धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि रानी–किमाथाङ्का सडक विस्तारसँगै तमोरबाट सुरुङमार्गमार्फत पानी ल्याउने योजनामा संघीय तहबाट पहल गर्ने उनको भनाइ छ ।
श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङ : ‘श्रमदानबाट देश निर्माण’
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा उम्मेदवार हर्कराज साम्पाङ राईले आफू धरानका मेयर भएपछि श्रमदान अभियानमार्फत ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट खानेपानी ल्याएको दाबी गर्दै यसै उपलब्धिका आधारमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष तथा ‘पोस्टर अनुहार’ समेत रहेका उनले श्रम अभियानलाई देश निर्माणको वैचारिक आन्दोलनका रूपमा प्रस्तुत गरेका छन् ।
विदेशी ऋणमा आधारित विकास मोडेललाई अस्वीकार गर्दै श्रम र आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ ।
राईले किसान र मजदुरको अभिलेख तयार गरी उनीहरूको हितमा केन्द्रित नीति ल्याउने, श्रमको सम्मान स्थापित गर्ने र वैकल्पिक विकास दृष्टिकोण अघि सार्ने प्रतिबद्धता जनाएका छन् ।
सुनसरी–१ मा मात्र नभई अन्य क्षेत्रमा समेत आफ्ना उम्मेदवारलाई जिताएर सरकार गठन गर्ने दाबी उनले गरेका छन् ।
रास्वपाकी गोमा तामाङ (सरिन) : ‘स्थायित्व र समावेशिताको एजेन्डा’
२०७९ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी रास्वपाकी उम्मेदवार गोमा तामाङ (सरिन) यसपटक विजयी भई संघीय संसद्मा पहिलो महिला समलिङ्गी सांसद बन्ने लक्ष्यसहित मैदानमा छिन् ।
घरदैलो अभियानमा उनले ठूला आश्वासनभन्दा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
राजनीतिक अस्थिरता अन्त्य गर्न रास्वपाले बहुमतको सरकार बनाउने दाबी गर्दै उनले मतदातालाई ‘मत खेर नफाल्न’ आग्रह गरेकी छन् ।
२०७९ मा १६ हजार ६०६ मत प्राप्त गरेकी तामाङले यसपटक त्योभन्दा बढी मत ल्याएर विजयी हुने विश्वास व्यक्त गरेकी छन् ।
पाँच वर्ष निरन्तर सक्रिय रही जनताको आवाज संसद्मा पुर्याउने उनको प्रतिबद्धता छ ।
सूर्यबहादुर भट्टराई : ‘अराजकता विरुद्धको उम्मेदवारी’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा का उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज)ले श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई आफ्नो मुख्य प्रतिस्पर्धी मान्दै ‘अराजकता परास्त गर्न’ आफूले जित्नै पर्ने बताएका छन् ।
धरान–१७ का वडाध्यक्ष रहँदा साम्पाङसँग पटक–पटक विवादमा परेका भट्टराईले पार्टी स्थापना गरेर साम्पाङ उम्मेदवार बनेपछि आफूले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदान रोजेको बताएका छन् ।
उनले न्याय, सत्य र विकासको नेतृत्व आफूले गरेको दाबी गर्दै अन्य दलका मतदातालाई समानुपातिकमा आफ्नो पार्टीलाई मत दिए पनि प्रत्यक्षमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।
कांग्रेसका सुजेन्द्र तामाङ : ‘विकासका अधुरा योजना पूरा गर्छु’
नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ बराहक्षेत्र लगायत गाउँ–इलाकामा घरदैलोमा सक्रिय छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सडक पूर्वाधार र सिँचाइ व्यवस्थापनलाई प्राथमिक एजेन्डा बनाएका उनले अन्य दलको सरकारले अधुरा छाडेका योजना कांग्रेसले पूरा गर्ने दाबी गरेका छन् ।
पहिले एमालेसँग मात्र प्रतिस्पर्धा हुने क्षेत्रमा अहिले बहुपक्षीय प्रतिस्पर्धा भएकाले आफूलाई फाइदा पुग्ने उनको आकलन छ ।
अघिल्ला चुनावमा कांग्रेस उम्मेदवार नजितेकाले जनताको सेवा गर्ने अवसर नपाएको भन्दै यसपटक आफूलाई जिताएर संसद् पठाउने विश्वास उनले व्यक्त गरेका छन् ।
उज्यालो नेपालका डम्बर लावती : ‘नयाँ विकल्पको खोजी’
उज्यालो नेपाल पार्टीका उम्मेदवार डम्बर लावती (जेन्टल)ले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफूलाई ‘नयाँ विकल्प’का रूपमा प्रस्तुत गरेका छन् ।
अन्य दलका उम्मेदवारहरू ‘टेस्टेड’ भइसकेकाले मतदाताले यसपटक आफूलाई रोज्ने उनको दाबी छ ।
धरानको खानेपानी समस्या समाधानका लागि बहुआयामिक विकास अवधारणाअनुसार धरान–लेउती सुरुङमार्ग निर्माणमा पहल गर्ने, सर्दु जलाधारका नाममा रोक्का गरिएका जग्गा फुकुवा गराउने, ६ लेन सडकका कारण प्रभावित घरजग्गा तथा सुकुम्बासी समस्या समाधानमा पहल गर्ने उनले बताएका छन् ।
यसैगरी धरानलाई व्यापारिक ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने, बीपी प्रतिष्ठानलाई सुलभ र प्रभावकारी बनाउने, शैक्षिक हबका रूपमा स्थापित गर्ने तथा पर्यटन, प्रविधि र खेलकुद क्षेत्र सुधार गर्ने एजेन्डा उनले अघि सारेका छन् ।
धरानमै डोमेस्टिक एयरपोर्ट निर्माणको विषयसमेत उनले उठाएका छन् ।























