अमेरिका– अमेरिकाको Virginia राज्यस्थित Fairfax County मा एक नेपाली परिवारमा भएको विभत्स घटनामा श्रीमती र छोरीको हत्या भएपछि आरोपी पनि प्रहरी कारबाहीमा मारिएका छन्।
स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे मान्तुवा क्षेत्रको एक घरमा ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरेका थिए। प्रहरीले जनाएअनुसार उनले करिब १० इन्च लामो धारिलो हतियार (दाउ) प्रयोग गरेका थिए।
घटनाबारे जानकारी दिँदै Fairfax County Police Department का प्रमुख Kevin Davis ले प्रहरी घटनास्थलमा पुग्दा आरोपीको हातमा रगत लागेको धारिलो हतियार रहेको बताए। हतियार भुइँमा राख्न बारम्बार आग्रह गर्दा अटेर गरेपछि प्रहरीले गोली चलाएको र गोली लागेर उनको मृत्यु भएको उनले जानकारी दिए। प्रमुख डेभिसले यो घटनालाई “अत्यन्तै दर्दनाक र बिर्सन नसकिने” भन्दै गम्भीर अनुसन्धान अघि बढाइने बताए।
घटनामा छत्रबहादुरले आफ्ना ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेतमाथि पनि आक्रमण गरेका थिए। गम्भीर घाइते बस्नेतको उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी नेपालमा हुँदा विराटनगर निवासी थिए।
यस घटनामा एक वर्षीय बालक सकुशल रहेका छन्। ती बालक ममता र सन्तोषका छोरा हुन्। प्रहरीका अनुसार बालकलाई सुरक्षित रूपमा बाल स्याहार केन्द्रको जिम्मा लगाइएको छ।
प्रारम्भिक विवरणअनुसार उदयपुरको बेलका नगरपालिका–रामपुर घर भएका छत्रबहादुर केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित थिए र औषधि सेवन गर्दै आएका थिए। गत वर्ष २०२५ नोभेम्बर १२ मा ग्रिनकार्ड प्राप्त गरेपछि उनी छोरीको बसोबास रहेको फेयरफ्याक्समै बस्दै आएका थिए।
घटनापछि Embassy of Nepal in Washington, D.C. ले पनि चासो व्यक्त गरेको छ। दूतावासले आफन्तलाई सम्पर्कमा आउन आग्रह गर्दै अमेरिकास्थित नेपाली समुदायसँग समन्वय गरी पीडित परिवारका आफन्तको खोजी भइरहेको जनाएको छ। दूतावासकी अधिकारी जुना अधिकारीका अनुसार घटनाबारे आधिकारिक जानकारी सकेसम्म छिटो आफन्तसम्म पुर्याउने प्रयास भइरहेको छ।
यसअघि पनि अमेरिकामा नेपाली परिवारमा यस्तै दुखद घटना घटेको थियो। गत वर्ष अगस्टमा Dallas, Texas मा ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानमाथि गोली प्रहार गरी हत्या गरेका थिए। त्यसपछि उनले सोही हतियार प्रयोग गरी आत्महत्या गरेका थिए।
यस्तै, २०८१ भदौमा नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्लेको हत्या गरी शव लुकाएको घटना पनि सार्वजनिक भएको थियो।
एक वर्षको अन्तरालमा अमेरिकी भूमिमा नेपाली समुदायसँग सम्बन्धित यस्ता घटनाहरू दोहोरिँदा प्रवासमा रहेका नेपाली समुदायमा गहिरो चिन्ता र शोक छाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।


विश्व खबर 



















