काठमाडौं– काठमाडौं–८ मा मतदानको मिति नजिकिँदै जाँदा पनि चुनावी माहोल अपेक्षाकृत सुस्त देखिएको छ ।
अघिल्ला चुनावजस्तो जुलुस, नाराबाजी र घरदैलोको रौनक नदेखिँदा मतदातामा उत्साह कम देखिएको स्थानीय बताउँछन् ।
नागार्जुन–४ का एक व्यापारी भन्छन्, ‘भोट त हाल्नैपर्ला, तर कसलाई भन्ने अझै टुंगो छैन ।’
स्थानीयका अनुसार हालसम्म कांग्रेसकी सपना राजभण्डारी र रास्वपाका विराजभक्त श्रेष्ठ सक्रिय देखिएका छन् ।
एमालेका राजेश शाक्य र नेकपाका सुमन सायमीसहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ मा रास्वपाका विराजभक्त श्रेष्ठ १०,११२ मतसहित विजयी भएका थिए भने सुमन सायमी दोस्रो भएका थिए। यसपटक पनि उनीहरू आमनेसामने छन् ।
कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको विरासतलाई निरन्तरता दिँदै उनकी पत्नी सपना राजभण्डारीलाई मैदानमा उतारेको छ ।
एमालेका राजेश शाक्य प्रदेशस्तरको अनुभवसहित संघीय राजनीतिमा फर्किने प्रयासमा छन् ।
५७ हजार ८११ मतदाता रहेको यस क्षेत्रमा चारपक्षीय प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ ।
गठबन्धनविहीन चुनावी मैदानले परिणाम झन् अनिश्चित बनाएको छ ।























