काठमाडौं। कोरोना संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।
असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।यसअघि ६ बजेसम्म पसल खुल्न दिने गरिएकोमा एक घण्टा थप गर्ने निर्णय भएको हो ।
यस्तै आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।
लामो दूरीको यातायातको प्रस्ताव मन्त्रिपरिषदमा :
काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको जानकारी आएको उनले बताए ।
उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास लिएर आउने गाडी उपत्यका प्रवेश गरिरहेको सिडिओ पराजुलीले बताए । ‘तर देशभरिको यातायात सञ्चालनको विषय हुनाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ’ उनले भने ।
यस्तो छकाठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश :





विश्व खबर 




















