काठमाडौं- भारतको झारखण्डमा विमान दुर्घटना भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।
चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी–एजेभी) विमान दुर्घटना भएको हो।
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए।
दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।
मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।
सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।


विश्व खबर 



















