विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको निर्वाचन लक्षित सार्वजनिक गरेको केन्द्रीय घोषणापत्र र झापा–५ का उम्मेदवार बालेन शाहको व्यक्तिगत घोषणापत्रबीच दृष्टिकोणमा फरक देखिएको छ ।
केन्द्रीय घोषणापत्रले उदार अर्थतन्त्र, विधिको शासन र संविधान संशोधनमा जोड दिँदै प्रदेश संरचना र सुकुम्वासी समस्या जस्ता विषयमा स्पष्टता दिएको छैन ।
यसको विपरीत, बालेनले आफ्नो वाचापत्रमा प्रदेशलाई शक्तिशाली बनाउने, स्थानीय–प्रदेश–संघीय समन्वय सुनिश्चित गर्ने र सुकुम्वासी समस्या १ हजार दिनभित्र समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
बालेनले वैदेशिक रोजगारीलाई निरन्तर प्रक्रिया मानेर उद्यम प्रवर्धन र पर्यटन–उद्योगमा कार्यक्रम अघि बढाउने योजना राखेका छन्, जबकि केन्द्रीय वाचापत्रले रेमिट्यान्समुक्त अर्थतन्त्रमा केन्द्रित छ ।
शिक्षा क्षेत्रमा पनि बालेनले काठमाडौं महानगरको सीप कार्यक्रमलाई सापट लिएर स्थानीय स्तरमा लागू गर्ने प्रस्ताव राखेका छन्, जसले केन्द्रीय नीतिसँग पूर्ण मेल खाँदैन ।
अन्त्यमा केन्द्रीय वाचापत्र र उम्मेदवार शाहको घोषणापत्रबीच नीतिगत प्राथमिकता र कार्यान्वयनको दृष्टिकोणमा स्पष्ट भिन्नता देखिन्छ ।
























