काठमाडौं– पोखरामा पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, एसजे मोटो र हिमालयन जाभा ले काठमाडौंस्थित आफ्नो दोस्रो आउटलेट पूर्ण रूपमा नयाँ स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना गरिएको यो आउटलेटलाई अब आधुनिक सजावट, फराकिलो सिटिङ क्षेत्र र ग्राहकमैत्री सुविधासहित स्तरोन्नति गरिएको छ।
यस नयाँ आउटलेटको मुख्य उद्देश्य बाइक प्रेमी र कफी प्रेमीहरूलाई एउटै छानामुनि आकर्षित गर्नु हो। यहाँ आउने ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिन सक्ने मात्र नभई मोटरसाइकल संस्कृतिको अनुभव पनि गर्न सक्नेछन्। एसजे मोटो र हिमालयन जाभा ले यसलाई सामान्य क्याफे मात्र नभएर एक ‘लाइफस्टाइल डेस्टिनेसन’को रूपमा विकास गर्ने साझा दृष्टिकोण राखेका छन्।
एसजे मोटोका संस्थापक सौरभ जोतिले भने, “पोखरामा पहिलो संयुक्त आउटलेट खोल्दा देखियो कि बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको छ। यही उत्साहलाई अझ प्रोत्साहित गर्न र उत्कृष्ट अनुभव दिन हामीले काठमाडौंको आउटलेटलाई फराकिलो र आकर्षक बनाएका हौं।”
लामो राइड अघि रिफ्रेस हुन, साथी राइडरहरूसँग भेटघाट गर्न वा उत्कृष्ट कफीको मज्जा लिन—नयाँ स्वरूपको यो आउटलेटले सबैलाई अनौठो र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।
अब यो आउटलेट सर्वसाधारणका लागि पूर्ण रूपमा खुला छ।
























