काठमाडौं– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले विस्तृत वाचापत्र सार्वजनिक गर्दै आफू निर्वाचित भए संघीय संसद्मा सक्रिय, प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संविधान–२०७२ को पूर्ण परिपालनालाई आधार बनाउँदै उनले संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक पूरा गर्ने तथा नागरिकमैत्री कानुन निर्माण, संशोधन र परिमार्जनका लागि संसदमा अग्रसर रहने बताएका छन् ।
उनले संसद्को अग्रपंक्तिमा उभिएर बेथिति र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने, राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का मुद्दा सशक्त रूपमा उठाउने र स्थानीय जनताको आवाज निरन्तर संसदमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
संघीय सांसदको हैसियतबाट प्राथमिकता
शाहले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने, सरकार र जेनजीबीच भएका सम्झौताहरू पारदर्शी र समयमै कार्यान्वयन गराउने तथा स्थानीय र प्रदेश योजनालाई संघीय तहबाट छिटो र परिणाममुखी रूपमा अघि बढाउने वातावरण बनाउने बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र–२०८२– थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व गर्ने घोषणा गर्दै गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकतालाई व्यवहारमै सुनिश्चित गर्न कानुन र बजेट निर्माणमा जोड दिने बताएका छन् ।
राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने र सार्वजनिक सेवालाई चुस्त बनाउन भूमिका खेल्ने उनको दाबी छ।
झापा–५ मा संसद् सचिवालय स्थापना
शाहले झापा–५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई संस्थागत रूपमा सम्बोधन गर्ने योजना अघि सारेका छन् ।
राजनीतिलाई पेशा होइन, सेवा बनाउने र मतदाताको विश्वासलाई काममा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ ।
शिक्षा क्षेत्रमा सुधार
शिक्षा क्षेत्रमा गरिब तथा विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, शिक्षामा सीप कार्यक्रम लागू गरी विदेश जानुपर्ने बाध्यता घटाउने, गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रूपमा पुनर्निर्माण गर्ने घोषणा गरिएको छ ।
त्यस्तै दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने, विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य राखिएको छ ।
फरक क्षमता भएका बालबालिकाका लागि नीतिगत सुधार र स्थानीय भाषा पाठ्यक्रममा समावेश गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
स्वास्थ्य र पूर्वाधार
दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने, ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने तथा २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने योजना वाचा पत्रमा समेटिएको छ ।
पूर्वाधारतर्फ अधुरा योजनालाई समयसीमाभित्र सम्पन्न गर्ने, दमक–रवि चिसापानी सडक पूरा गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी डुबान नियन्त्रण गर्ने तथा दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
कृषि, रोजगारी र उद्योग
कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधि प्रयोग, गौरादह कृषि भण्डारण केन्द्र स्थापना, कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी प्रणाली लागू गर्ने तथा युवालाई कृषि पेशामा आकर्षित गर्ने कार्यक्रम अघि सारिएको छ ।
प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
महिला, बालबालिका र सुशासन
आमाको नामबाट नागरिकता लिँदा हुने प्रक्रिया सरल बनाउने, महिला कृषि कर्जा कार्यक्रम सञ्चालन गर्ने, हिंसामा परेका महिला तथा बालबालिकाका लागि सेफ हाउस स्तरोन्नति गर्ने तथा २४ घण्टा सुरक्षित शहर निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ ।
सुशासनतर्फ अनलाइन गुनासो दर्ता प्रणाली, डिजिटल ड्यासबोर्डमार्फत सार्वजनिक कामको प्रगति प्रदर्शन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।
वातावरण, संस्कृति र खेलकुद
चुरे संरक्षण, वैज्ञानिक फोहोर व्यवस्थापन, वन तथा सिमसार संरक्षण, विपद् पूर्वतयारी कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ ।
साथै राष्ट्रिय भाक्का दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, आदिवासी जनजाति संग्रहालय सुदृढ गर्ने र सेउपाखा बहुसांस्कृतिक भवन निर्माण सम्पन्न गर्ने घोषणा गरिएको छ ।
खेलकुदतर्फ बहुआयामिक खेलकुद एकेडेमी स्थापना, दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने तथा खुला खेल मैदान संरक्षण गर्ने योजना अघि सारिएको छ ।
वाचापत्र सार्वजनिक गर्दै शाहले भनेका छन्, ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला ।’
























