काठमाडौं– पछिल्ला दिनमा देशभर सडक दुर्घटना बढ्दै गएका छन् ।
पछिल्लो १८ दिनभित्र तीन ठूला सवारी दुर्घटनामा परी ४४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् ।
दुर्घटनाको कारणबारे सडक संरचना, सवारीको अवस्था र चालकको लापरबाहीलाई दोष दिइँदै आए पनि ठोस छानबिन भने भएको देखिँदैन ।
प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार दुर्घटना बढेपछि कारणबारे विश्लेषण सुरु गरिएको छ ।
माघ २२ मा बैतडीको पुर्चौडी–७ बडगाउँमा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भयो ।
त्यसको केही दिनमै रामेछापको त्रिवेणीघाटमा अर्को बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए ।
पछिल्लो पटक फागुन ११ गते धादिङको बेनिघाट रोराङमा पृथ्वी राजमार्गबाट बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ ।
घाइतेहरूलाई काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।























